• मंसिर ११ २०८१, मंगलवार

आईसीसी टी–२० विश्वकप: दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

असार २ २०८१, शनिबार
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ ।  अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरेका हुन् । अनिल शाहले २७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे ।

कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमेको हो ।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १९ रन दिएर चार विकेट लिए । एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको  दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए।