• मंसिर १३ २०८१, बिहीबार

माओवादीले निलम्बन गरेका देवकोटालाई मन्त्रीमा पुनर्नियुक्ति गरिँदै

असार १ २०८१, शुक्रबार

पोखरा । शुक्रबार पदमुक्त भएका गण्डकीका पूर्वसांसद फणिन्द्र देवकोटालाई पुनर्नियुक्ति गरिने भएको छ । शुक्रबार प्रदेशसभामा माओवादीले गरेको कारबाही पत्रको आधारमा सभामुख कृष्णप्रसाद धितालले पद रिक्त भएको पत्र वाचन गरिरहँदा उनी गण्डकीका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री थिए ।

तीन दिनअघि मात्रै मन्त्री नियुक्त भएका देवकोटा चाहिँ बिहीबार नै मन्त्रालय र प्रदेशसभामा उपस्थित भने भएका थिएनन् । किनभने माओवादीको पत्रको आधारमा बिहीबार नै पदमुक्त होइने आशंका उनमा थियो । त्यसकारण उनले बिहीबार नै झन्डावाला गाडीको प्रयोग छाडेका थिए ।

कारबाही नभएपछि उनी शुक्रबार पनि मन्त्रालय गएनन् । शुक्रबार नीति तथा कार्यक्रम पारित हुनुपूर्व सभामुख धितालले माओवादीले प्रदेशसभा सचिवालयलाई बुझाएको पत्र वाचन गर्दै भने, ‘गण्डकी प्रदेशसभाका सदस्य माननीय फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरी दल त्याग गरेको व्यहोराको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्राप्त हुन आएकाले सोही ऐनको दफा ३५ र गण्डकी प्रदेशसभा नियमावली २०८० को नियम २०७ समेतको कानुनी व्यवस्थाअनुसार सभामुख समक्ष जानकारी गराउँदछु ।’

देवकोटा पदमुक्त भइसकेता पनि उनले राजीनामा दिइसकेका छैनन, भने मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पनि उनलाई हटाइसकेका छैनन् । तर, पदमुक्त भइसकेको सांसद देवकोटा कानुनी लडाइँमा जाने र त्यतिञ्जेलका लागि उनलाई मन्त्रीमा नै पुनर्नियुक्ति गरिने तयारी मुख्यमन्त्रीको छ ।