• मंसिर १३ २०८१, बिहीबार

काठमाडौंका २७ विद्यालयका ३४० सटरमा महानगरले लगायो ताला

जेष्ठ ३१ २०८१, बिहीबार

काठमाडौं । महानगरपालिकाको शिक्षा विभागले २७ वटा सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा ताला लगाएको छ ।सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको महानगरको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माले बताए ।उनकाअनुसार व्यवसायिक प्रयोजनमा लगाइएका सटर र टहराहरूमा ताला लगाएको हो । यो संख्या अझै बढ्ने उनको भनाइ छ ।

‘शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेपछि सटरहरूमा ताला लगाउन थालेका हौं,’ उनले भने ।
महानगरको तथ्यांकअनुसार ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएका छन । ती सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइने उनी बताउँछन् ।

विद्यालयमा स्थान अभाव हुँदा शैक्षिक कार्यक्रम सञ्चालन गर्न असहज भएको गुनासो आएको थियो । तर आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा विद्यालयले कहिल्यै ध्यान नदिएको मेयर बालेनका सचिवालय सदस्य सस्मित पोखरेलले बताएका थिए ।
आइतबारदेखि महानगरले विद्यालयले भाडामा लगाएका सटरहरूमा ताला लगाउँदै आएको छ ।