भूमि पूजाको रौनकले उत्तरी रोल्पा र रुकुमपूर्व यतिखेर उल्लासमय भएकोछ । रुकुमपूर्वको भूमे गाउँपालिकाले यो पर्वलाई पालिकाको गौरबको पर्वको रुपमा मनाउने गर्दछ । यसलाई हरेक बर्ष महोत्सव नै आयोजना गरी भव्य रुपले कार्यक्रम गर्दछ । उत्तरी रोल्पाका थबाङ र सुनछहरी गाउँपालका र रोल्पा नगरपालिकाका केही वडाहरुमा पनि समुदाय स्तरमा यो पर्व भव्य रुपमा मनाइन्छ ।
यो पर्व उत्तरी रोल्पा र रुकुमपूर्वमा मात्र सीमित नरही पछिल्लो केही बर्षदेखि राष्ट्रिय र अन्तराष्ट्रियकरण भएको छ । त्यस क्षेत्रबाट बसाई सरेर गएका डायस्फोराहरुले काठमाण्डौ, दाङ तथा पोखरा लगायतका नेपालका सहर तथा अमेरिका, जापान, युके, कतार लगायतका विभिन्न देशमा विस्तार गरेका छन् । काठमाण्डौँमा नेपाल मगर संघ नै आयोजक भएर यो पर्व मनाउन थालेको धेरै बर्ष भयो । यसले मगर जातिको पहिचानलाई थप टेवा पुर्याएको छ । यो पर्व मगरहरुको राष्ट्रिय पर्वको रुपमा स्थापित हुँदै जाँदा यसको ऐतिहासिक पाटो उत्खनन् गर्नु पर्ने देखियो । मगर जातिको सांस्कृतिक पहिचानलाई स्थापित गर्न डिक्लोनाइजेशन गर्नुपर्ने समय आयो ।
यही उदेश्यका निमित्त २०८० जेठ २८ गत्ते मगर प्राज्ञिक परिषद्को आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाण्डौँमा आयोजित ‘नाम्कः भूमि पूजाको मगर परम्परा’ नामक पेपर प्रस्तुत गरिएको थियो । सो पेपरको विस्तृत लेख आम पाठकमाझ प्रस्तुत गर्नुपर्ने महसुस भएकोले यो लेख प्रस्तुत गरिएको छ ।
विषय प्रवेश :
‘नाम’ भनेको भूमि अथवा जमिन हो भने ‘क’ भनेको कःन्याको छोटो रुप हो । कन्या भनेको थाम्ने भन्ने हुन्छ । नाम र कःन्या मिलेर नाम्क बनेको हो । रोल्पा थबाङ निबासी उदय घर्तीमगरका अनुसार जमिन थाम्ने अनुस्थान नै नाम्क हो । यसलाई नाम्क पूजा, नाम्क राम, नाम्क पर्व लगायत भनिन्छ । नविन रोकामगरका अनुसार यो पर्वलाई खस नेपाली भाषामा भूमे पर्व भनेता पनि खामपाङमा नाम्क, बल्कु, नोकोबाङ्गे भन्ने गरिन्छ । नाम्कलाई लुगुममा भूमे, काँक्रीमा बल्क, टकसेरामा भूल्कु र निसीखोलामा नाँखाँ भन्ने गरिन्छ । यसलाई नाचकै नाममा पनि नोगोबाङ्गे, झ्यामकरी समेत भन्ने गरिन्छ । यसलाई खस नेपाली मातृभाषीहरुले भूमे र मगर खाम मातृभाषीहरुले भूम्या उच्चारण गर्दछन् । मूल शब्द भने भूमि हो । यो शब्द संस्कृतको ‘भू’ धातुबाट बनेको स्त्रीलिङ्ग बुझाउने संज्ञा हो । जसको अर्थ जमिन वा धर्ती भन्ने हो ।
भूमि पूजालाई म्याक्स मुलरले सन् १८७८ को आफ्नो एक प्रस्तुतिमा, ‘अनुस्थानका माध्यमले मानव समुदाय र प्रकृतिबीच गहिरो सम्बन्ध निर्माण गर्दछ र यसले आध्यात्मिकता र पारिस्थितिक आयामहरुलाई अवगत गराउँछ भनेर सैध्दान्तिकीकरण गरेका छन् । प्रकृतिको पूजा गर्ने मगर जाति सूर्य, चन्द्र, धर्ती, मुहान, पर्वत, पत्थर, हावालाई शक्तिको रुपमा मान्ने परम्परा छ । रस्तीबस्ती गर्दा, खेती गर्दा, पशुचौपायाको चरिचरन गर्दा भूमि अशुध्द हुन जाने । भूमि अशुध्द हुँदा प्रकृतिले अलौकिक शक्ति प्रदर्शन गरी ठूलो प्रलय निम्तिने त्यो समयको मानव चेतनाले विश्वास गर्यो । बाढीपहिरो ल्याउने, आँधीबेहरी असिना ल्याउने लोक विश्वास हुन गयो । प्रकृतिको भयंकर रुप विपद्लाई रोकाथाम गर्ने आध्यात्मिक उपायको रुपमा नाम्क पर्वको उदय हुन पुग्यो ।
पूर्व अध्ययनको समिक्षा :
भूम्या राम मगरहरुको ठूलो सामुदायिक पर्व हो भनेर जीवन रोकामगरले आफ्नो रोल्पा रुकुम र बाग्लुङका मगरहरुको भाषा, संस्कृति र साहित्य पुस्तकमा उल्लेख गरेका छन् । यस्तै मिन श्रीसमगरले आफ्नो मगर जातिको चिनारी नामक पुस्तकमा, भूम्या मगरहरुको महत्वपूर्ण चाडहरु मध्ये एक हो भनी उल्लेख गरेका छन् । नविन रोकामगरले भूमि पर्वलाई मगरहरुले आर्थिक वर्षको रुपमा लिने भनेर २०८० मा प्रकाशित भूमे पुस्तकमा उल्लेख गरेका छन् । त्यही पुस्तकमा काँक्रीका मदन रोकामगरले बल्क पूजामा गाउँका युवायुवतीहरु बुकी हिडेपछि भोलिपल्ट बल्क पूजा सम्पन्न नहुञ्जेलसम्म जमिनको बर्ज हुने कुरा उल्लेख गरेका छन् । यस्तै लुगुमका हर्क घर्तीमगरले भूमेलाई गाउँ ठाउँ अनुसार भूमे, नोगोबाङ्गे, भूम्या, बल्क, बुल्कु, बलपूजा, ज्यामकरी, नाम्क भन्ने गरिन्छ भनेका छन् ।
देविका घर्तीमगरको थाहाखबरको अनलाइन पेजमा प्रकाशित लेखमा मगर समुदायमा प्राकृतिक प्रकोपहरु नलागोस्, अन्न राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू र आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाइने उल्लेख गरेका छन् । भूमिलाई गाउँ अनुसार फरक फरक पशुको बली दिने चलन रहेको अनिल बुढामगरले उल्लेख गरेका छन् । गोरखापत्रमा प्रकाशित उनको लेखमा भेडा, बाख्रा, बोका, सुँगुर र भाले लगायतको पशुपंक्षीको बली दिने चलन रहेको उल्लेख छ । यस्तै मगर संस्कृतिका ज्ञाता बमकुमारी बुढामगरका अनुसार रोल्पा र रुकूमपूर्वका उच्च पहाडी भेगमा भूम्या पर्व मनाईन्छ ।
खासगरी भेडापालक पहाडतिर उकाल्ने र भेडाहरु बुकीमा छोडेर रमाउने पर्व हो भनेका छन् । डा. विष्णु सिञ्जालीका अनुसार भूमे/भूम्या पूजा पनि पितृ र प्रकृति पूजाको एक रुप हो भनेका छन् साथै राप्ती प्रश्रवण क्षेत्रका मगर गाउँहरुमा यो पूजा गरेपछि सामुहिक नाच हुन्छ । गण्डकी प्रश्रवण क्षेत्रमा यो पूजाआजालाई भूँयार, भयँर, भूम्या/भूमे आदि भनिन्छ । तर भूम्या/भूमे पूजा भूमिको हो भने भूँयार पूजा भूमिपुत्र अर्थात पित्रको पूजा हो । यी दुई पूजाको आधारभूत भिन्नता छन् ।
भूमि पूजा सम्बन्धी विभिन्न फुटकर विवरणात्मक लेखन कार्य भएको पाइएको छ । यसको ऐतिहासिक, सामाजिक सांस्कृतिक एवम् पर्यावरणीय पाटोमा प्राज्ञिक दृष्टिले पर्याप्त अध्ययन हुन सकेको देखिएको छैन । यसलाई पुरा गर्नका लागि अध्ययनको खाँचो रहेको देखिन्छ ।
अध्ययनको उदेश्य र महत्व :
आदिवासी मगर जातिमा प्रचलित ‘नाम्क’ को विभिन्न क्षेत्रमा अन्वयषण गर्नुपर्ने समय आएको छ । नाम्क पूजाको इतिहास र उत्पत्तिको तथ्यपरक खोजी गर्नुपर्ने भएको छ । यो पूजाको विभिन्न भौगोलिक क्षेत्रमा रहेको विविधताहरुको उजागर गर्ने, पूजाको सामाजिक सांस्कृतिक आर्थिक पर्यावरणीय र राजनैतिक महत्व पहिल्याउने । योसँग जोडिएका नाच र गीतको बारेमा खोज गर्ने लगायत उदेश्य छन् । साथै तथ्यपरक खोजी मार्फत यसको नाम, मिथक तथा पूजा प्रकृयामा निहित क्लोनाइजेशनलाई डिक्लोनाइज्ड गर्ने रहेको छ ।
यस्तै, सांस्कृतिक सम्पदा र परम्पराको संरक्षण, मानवशास्त्रीय अन्तरदृष्टिले नाम्क पर्वमा रहेका संस्था, पद र भूमिका एवम् विश्वास प्रणाली, मूल्य र समुदायको विश्वदृष्टिकोण बुझ्न यो अध्ययन आवश्यक छ । समाजशास्त्रीय सन्दर्भमा नाम्कको सामाजिक सदभाव र सम्बन्ध एवम् व्यक्तिगत र सामुहिक पहिचान बुझ्न नित्तान्त खाँचो छ । ऐतिहासिक निरन्तरता र देखिएका परिवर्तनको प्रवृत्ति पहिल्याउनु पर्ने देखिन्छ । आदिवासीहरुको ज्ञान सेयरिङ गर्न, नीतिमा प्रभाव पार्न सक्ने राजनैतिक तथा सामाजिक सशक्तिकरणका लागि योगदान हुनसक्छ । विभिन्न प्राज्ञिक क्षेत्रका सिध्दान्त विकासमा योगदान गर्न तथा शैक्षिक क्षेत्रमा विषयवस्तु प्रदान गर्न यो अध्ययन महत्वपूर्ण छ ।
अध्ययन विधि :
अध्ययनका लागि रोल्पाको थबाङ, रुकुमपूर्वको लुगुम, टकसेरा, काँक्री र बाग्लुङको निसीखोलाको पूजा प्रकृयालाई विस्तृत रुपमा अवलोकन, समूह छलफल, व्यक्तिगत अन्तर्वार्ता तथा भिडियो आर्काइभको समिक्षा गरिएको छ । यस्तै लुगुम, काँक्री, टकसेरा लगायतका गाउँका विभिन्न व्यक्तिहरुसँग अन्तर्वार्ता गरिएको छ । साथै नाम्कसँग सम्बन्धित मुखपत्र ’भूमे २०८०’ पुस्तकमा रहेका लेखहरुको समिक्षा गरिएको छ । बाग्लुङ जिल्लाको निसीखोला भलकोटमा तीया बर्षमा मनाइने नाँखाँ पूजाको स्थानीयसँग समिक्षा गरिएको छ । अध्ययनको निमित्त इथ्नोग्राफिक विधिको अवलम्बन गरिएको छ ।
अध्ययन क्षेत्रमा प्रचलित पूजाको तुलनात्मक समिक्षा
तुलनात्मक अध्ययनका लागि थबाङ, लगुम, टकसेरा, काँक्री र निसीखोलाका सूचनाहरु संकलन गरिएको छ । यी बस्तीहरुमा रहेको पूजाको नाम, इतिहास, पूजाको उदेश्य, पूजारी, बली, मिथक लगायतका क्षेत्रमा तुलनात्मक समिक्षा देहाय अनुसार गरिएको छ ।
पर्वको स्थानीय भाषामा भनिने मौलिक नामहरु अध्ययन क्षेत्रमा फरक फरक रहेको देखिन्छ । थबाङमा नाम्क, लुगुममा भूमे, टकसेरामा बल्क र निसीखोलामा नाँखाँ भनिन्छ । यी नामहरु भूमि पूजाकै स्थानीयकृत नाम हुन् । यसमा निसीखोलाको नाँखाँ पूजा गाउँ पूजा भन्ने हो । बाँकी ४ वटा गाउँको भने भूमि कै पूजा भन्ने हो । काँक्रीमा बली दिने कार्यबाट बल र पछि मगर खाम भाषामा बल्क हुन गएको देखिन्छ । यस्तै भूल्कू पनि बलबाट नै मगर खामकृत भएको हुन सक्ने देखिन्छ । भूमे भने भूमि कै स्थानीयकृत नाम हो । यसमा नाम्कमा प्राचीनता तथा मौलिकता भेटिएको छ । नाम मगर खामको जमिन वा भूमि बुझाउने शब्द हो । साथै कः बाट आएको कःन्याले जमिन तथा भूमि थाम्ने भन्ने हुन्छ । यो एक परिभाषित मगर खामको शब्द रहेको देखियो । यो शब्द भूमिलाई नै नाम्क भनियो वा नाम्कलाई भूमि भनियो भन्ने हेर्दा पुराना मानिसहरुले नाम्क र नयाँ युवाहरुले भूम्या/भूमे भन्ने गरेको पाइएकोले नाम्क प्राचीन र मगर मौलिकता बोकेको शब्द हो भन्ने सकिने आधार देखिन्छ ।
पूजाको उद्देश्य :
बाढीपहिरो रोगब्याधी रोकथाम, सुबकालनौग्रह, बाढीपहिरो रोकथाम, चोटपटक राम्रो सालसमय, अन्न सपार्नु, बाघ, चोरी, झगडा नपार्नु बाढीपहिरो, अनिकाल, दुख कष्ट रोकथाम, प्राणी जगतमा सुख शान्ति प्राप्त गर्नुबाढी पहिरो असिना नपरोस् । गाउँमा रोगव्याधीबाट जोगिनु बाढीपहिरो रोकथाम, रोगव्याधी भगाउने, अनधन सम्पूर्ण पुरा रहोस् भन्ने कामना गर्नु पूजाको मुख्य उदेश्य सबै बस्तीहरुको मिल्दोजुल्दो देखिन्छ । बाढीपहिरो, रोगव्याधी सुबकाल, राम्रो सालसमय रहोस् भन्ने उदेश्य सबैमा रहेको देखियो । यसले स्थानीय विविधता रहे पनि उदेश्यमा सबैको प्राकृतिक विपद नपरोस् भन्ने नै छ । त्यसैले प्रकृतिको शक्तिलाई अनुस्थानका माध्यमबाट क्षतिको न्युनिकरण गर्ने उपाय हो भन्न सकिन्छ ।
पूजा हुने समय विक्रम संवतको पात्रोलाई आधार मानिएको छ । यसमा काँक्रीको बैसाख पूर्णिमामा शुरु भै जेठ मसान्तको दिन पूजा हुने भएकोले आंशिक मौलिकता अझै बचेको देखिन्छ । नेपालमा विक्रम संवतको पात्रो सरकारी तहबाट विक्रम संवत १९५८ सालमा भीमशम्सेरको पालादेखि मात्र शुरु भएको हो । भूमि पूजाको चलन त्यो भन्दा धेरै पहिल्यैदेखि रही आएको देखिएकोले संकरातीको दिनलाई पूजा गर्ने दिनको रुपमा तोक्ने कार्य केही दशक मात्र भएको हुन सक्ने देखिन्छ । यस भन्दा अघि भूमि पूजाको साइत स्थानीय फल, फूल तथा ऋतुको कारण देखिने स्थानीय परिवर्तन र सूर्य उदाउने डाँडा तथा चन्द्रमाको आकारका आधारमा स्थानीयहरुबाट नै तय हुने गर्थ्यो । पूजा हुने समयका सम्बन्धमा विक्रम संवतले क्लोनाज्ड गरेको देखिन्छ ।
पूजारी र पूजारी छनौट
थबाङ र काँक्रीमा पूजारी विरासतमा आधारित छ । पूजारी खलकहरु स्पष्ट छन् । पूजारीको शेषपछि उनका सन्तान नै पूजारी हुने परम्परा छ । लुगुममा सिर्पाली कामी खलकको पूजारी विरासत रहेको छ । मार हान्ने र डोर्याउने भूमिकाका लागि राशी हेरेर तय गरिन्छ । लुगुममा ओतन पूजा भने दल्लामी पोनहरुले विरासतका आधारमा गर्छन् । टकसेरामा पनि पूजारी र सहयोगी राशी हेरेर तय हुन्छ । वंशको विरासत लिएर पूजारी हुने थबाङ, काँक्री र निसीखोलाको पूजारी छनौट विधि परम्परागत छ । यस्तै टकसेराको पूजारी र लुगुमको मार हान्ने र डोर्याउने व्यक्ति राशी हेरी छनौट गर्ने प्रकृया विक्रम संवतको पात्रो प्रचलनमा आएपछि शुरु भएको हुन सक्ने देखिन्छ । विक्रमसंवतको अभ्यास भन्दा पहिले शक संवत प्रचलनमा थियो तर त्यो सरकारी तहमा मात्र थियो । आम जनजीवनमा पर्याप्त अभ्यास भैसकेको थिएन । यो संवत इन्डोनेसियाको जाबा टापुबाट शुरु भएको मानिन्छ ।
सबै गाउँमा अनुस्थान भूमिकै हुने देखियो । थबाङमा चोखो जमिनलाई भोक दिइन्छ । यस्तै लुगुममा भूमिको प्रतिकात्मक रुप नाग अर्थात सर्पलाई एकहाँसे साँढाको बली दिइन्छ । काँक्री र टकसेरामा पनि साँढा कै बली भूमि थान र ढुंगामाथि बली दिइन्छ । तर शक्तिका हिसाबले फरक फरक शक्तिलाई मान राख्ने प्रचलन देखियो । थबाङमा बराहा, बजु , झाँक्री र झुनुङको धारधूप र धजा अछेता दिएर तथा फूल चढाएर मान राखिन्छ । यस्तै लुगुममा मगरहरुको १२ भाई बराहा, २२ बहिनी बजु, जलाकीका पूर्खा तथा मरेका र जीउदो पित्रका साथै हिन्दु देउताहरु; आकाशका इन्द्र, पतालका नाग, २२ भवानी र १४ भवानीको मान राख्ने कार्य हुन्छ । यसमा धारधूप अछेता र बूकी फूल चढाइन्छ । यस्तै टकसेरामा देवी देउराली, जलाकी र नौबहिनी गुनामेको पूजा हुन्छ । यसमा मौलिकता देखिन्छ । यस्तै निसीखोलामा आफ्नै मौलिक देउताहरु बराहा र झाँक्रीको पूजा हुन्छ ।
थबाङमा बोकाको बली दिएपछि मुटु कलेजो टुक्रा टुक्रा बनाई चोखो जमिनलाई चढाइन्छ । लुगुममा पनि छालाघाको चोखो ठाउँमा बली चढाइन्छ । यसले के देखिन्छ भने अनुस्थानमा बली जमिनका निमित्त नै दिइन्छ । अन्य दैदेउताहरुलाई समान्य मान राख्ने कार्य हुन्छ । टकसेरा, लुगुम र काक्रीमा जलाकी पूजा हुँदा आफ्ना पूर्वजहरुलाई धजा अछेता र बुकी फुल चढाएर सम्झने गरिन्छ । यो कार्य थबाङमा देखिदैन ।
थबाङमा गाउँ माथिको मठमा बोका मन्छाउने र गाउँमूनिको चोखो जमिनमा बली दिइन्छ । लुगुममा मादैमा साँढा मन्छाइन्छ र छालाघामा लगेर बली दिइन्छ । टकसेरामा चौतारै थानमा पाठा मन्छाएर ढुंगाको थानमा बली दिइन्छ । निसीखोलामा भने भूम्या थानमा बली मन्छाउने र भीबाङमा बली दिइन्छ । काँक्रीमा भूमे थानमा पूजा र बली दुवै हुन्छ । काँक्रीमा भूमे थान मै बली दिने प्रचलन देखियो । अन्य ठाउँमा भने मन्छाउने एकातिर र बली दिने अर्को ठाउँमा रहेको पाइएको छ । काँक्रीमा केही सुधार भएको हो कि भन्न सकिन्छ ।
थबाङमा बलीको बोको चरनबाट कटवालले चोर्छ । पछि मालिकलाई तोकिएको मोल मुलथाङ्गेले उपलब्ध गराउँछ । लुगुममा पञ्चबाट व्यवस्था हुन्छ । टकसेरामा भने चैते दशैका दिन व्यवस्था गर्ने गरिन्छ । काँक्रीमा स्वयंसेवी दाता हुन्छ जसलाई चरन क्षेत्र वर्षभर निशुल्क उपलब्ध हुन्छ । निसिखोलामा भेजाबाट संकलन हुन्छ । सबै गाउँमा आआफ्नै विधि र पध्दति रहेको देखिन्छ । यो स्थानीय व्यवस्थापकीय विविधता हो । यो स्थानीय स्थिति अनुसार तय भएको देखिन्छ ।
थबाङमा झाँक्री पर्यालले मन्छाउने र मुलथाङ्गेले डोर्याउँछन् । लुगुममा राहु ग्रह भएकोले बली हान्ने । केटु ग्रह भएका २ जनाले डोर्याउने कार्य गर्दछन् । टकसेरामा बैसाख पूर्णीमाका दिन जेठी कान्छी पर्यालबाट बाह्रघरे मुखियाकोमा पहिले डोरी पुर्याउनेले पाठा डोर्याउने भूमिका पाउँछ । काँक्रीमा पूजारीहरु आफै डोर्याउने गर्छन् । निसीखोलामा खास तोक्ने प्रचलन छैन । लुगुमको पाठा डोर्याउने भूमिकामा व्यक्ति छनौट गर्ने प्रकृयामा हिन्दु आइडोलोजीले प्रवेश पाएको देखिन्छ ।
सबै गाउँमा जमिन खन्न जोत्न बर्जित गरेको पाइयो । बर्जित प्रथा सबैतिर छ । बर्जित हुने बस्तु तथा क्षेत्र भने ठाउँ अनुसार फरक फरक छन् । जमिन सबै बस्तीम समान रुपमा बर्जित हुने देखियो । काँक्रीमा भने झाँक्रीले बैसाख पूर्णीमाकाे दिन नौद्वाहा चौद्वाहा बाँध्ने गर्दछन् । यो अरु भन्दा विशिष्ट प्रकृया हो ।
थबाङमा प्रचलित मिथक:
एकपटक थबाङमा ठूलै प्रलय आयो । यो प्रलयले थबाङ गाउँ पुरै बगेर जाने अवस्था देखियो । थबाङ गाउँ भौगोलिक हिसाबले पनि घेउभै, धोँठोखोला र रीखोला गरी ३ वटा खोलाको बीचमा पर्दछ । यसले गर्दा गाउँ आज पनि जोखिमयुक्त देखिन्छ । अचानक आएको ठूलै प्रलयका कारण बाढी पहिरोले पुरै गाउँ सकिने भयो । गाउँमा यो प्रलय रोक्ने कुनै उपाय भएन । उनीहरुमा यस्तो काम प्रकृति रिसाएर भएको विश्वास भयो । बग्न लागेको थबाङ गाउँ र बस्तीका मानिसहरु बचाउन एक जना मानिसको बली आवश्यक पर्ने भयो । यस्तो अवस्थामा थबाङका सबै भन्दा ज्येष्ठ व्यक्तिले आफू ‘झ्यामो ओयात परिन्या’ हुन तयार भए । जमिन र गाउँको लागि बलिदान दिन तयार भए । झ्यामो ओयात परिन्या भनेको अदृश्य शक्तिको मुखमा पर्न तयार हुने हो । यसलाई नामचुन भनिन्छ । नाम भनेको जमिन र चुन भनेको अचानो हो । अदृश्य शक्तिले जमिन बगाउन थालेपछि आफू अचानो भएर थापिने प्रकृया हो । आफू नामचुन बनेर थबाङका एक ज्येष्ठ पुरुषले थबाङ गाउँ जोगाउन सफल भए ।
यो घटनापछि थबाङमा नामचुन संस्थागत भयो । गाउँको सबैभन्दा जेठो पुरुष नामचुन बनेर जमिन र अदृश्य शक्तिको बीचको अचानो बन्ने चलन बस्यो । आज पनि थबाङको सबैभन्दा जेठो पुरुष नामचुन बन्नुपर्छ । आजभोलि पनि नामचुनलाई बोकाको बली दिने चोखो स्थानमा सँगसँगै लगिन्छ । बली दिने समयमा नामचुन लुकाइन्छ र बोकाको बली दिइन्छ । बलीको रगत नामचुनलाई खुवाइन्छ । आजभोलि भने थबाङमा नामचुनलाई सम्मान गर्ने चलन बसेको छ । नामचुनमा दलितहरुलाई पनि सहभागी गराउन थालिएको छ ।
सन् १५०५ जुन ६ तारिखका दिन अर्थात् विक्रम संवत १५६२ जेठको २४ गत्ते आजभन्दा ५१९ बर्ष ६ दिन पहिले लो मुस्ताङमा केन्द्रविन्दु भएर ८.८ रेक्टर स्केलको महाभूकम्प गएको थियो । यसले पश्चिम नेपालमा ठूलो प्रलय निम्त्याएको थियो । संभव त थबाङमा यही घटनाबाट नाम्क पूजा शुरु भएको हुन सक्ने अनुमान गरेको पाइन्छ । थबाङमा मनाइने नाम्क र त्योबेलाको भूकम्प गएको दिनको फरक ८ दिन मात्र रहेको देखिन्छ । प्रलय गएपछि बाँचेकाहरुले बाँकी जमिन र मानिसहरु बचाउन नाम्क अनुस्थान गरेको हुनसक्छ । विकिपिडियाका अनुसार यो प्रलयले ३० प्रतिशत नेपालीहरुको मृत्यु भएको भनेको छ ।
अझ यो क्षेत्र इपिसेन्टरको नजिक पर्ने भएकोले धेरै क्षेति भएको हुन सक्छ । त्यतिबेलाको भूकम्पले यो क्षेत्रका थुप्रै दहहरु घोप्टिएको तथा पहाडहरु भत्केको लोककथाहरु प्रचलनमा छन् । नामचुन हुन त्यो समयमा थबाङको ज्येष्ठ पुरुषलाई कसले प्रेरित गर्यो होला ? झ्यामो ओयात परिन्या कार्य गाउँको जेठो व्यक्ति नै हुनु पर्ने र नामचुन भएपछि जमिन र गाउँ सुरक्षित हुने विश्वास कसले दियो होला ? यी प्रश्नहरु सधै मनमा उब्जिरहनेछन् । यो खोजको विषय बनेको छ ।
लुगुममा प्रचलित मिथक :
उहिले एकपटक गाउँमा मानिसहरु एक एक गरेर बेपत्ता हुँदै गए । रहस्यको खोजी गर्न गाउँमा मुखीयाले गाउँभेला गरे । थाहा भयो कि पहरको प्वाँलमा लुकेको सर्पले मान्छे खाँदैछ । सिर्पाली कामीको साकाले एकधार्नीको सनासुले सर्प काबूमा ल्याउन सक्ने बताएपछि सबै जना योजना बमोजिम पानी भर्न पठाए । त्यै बेला मान्छे खान खोज्दा सिर्पाली कामीको साकाले सनासुले सर्पलाई घाँटीमा अठ्याए । को हो तँ ? भनेर सोध्दा । म भूमे देउता हुँ मनुस्य मलाई नमार्नू । मलाई हरेक बर्ष हाँसे साँडाको बली दिई मेरो पूजा गरेमा कुनै पनि क्षति गर्दैन भन्यो । त्यो बर्ष त्यसरी पूजा गरेपछि मानव क्षति भएन । त्यसपछि भूमे देउतामाथि विजय प्राप्त गरेको भनी खुशीले भूमे पूजाको प्रचलन बस्यो ।
लुगुमका स्थानीय दलकुमारी कामीका अनुसार लुगुमको पूर्वपाखामा बाँकी रहेको धूपी दल्लामी पोन र सिर्पाली कामीका साकाले सँगै रोपेको भन्ने गरेको सुनेको बताए । दल्लामी पोन र सिर्पाली सन्तानले यो रुख काट्न नमिल्ने र दाउरा पनि बाल्न नहुने चलन रहेको बताए । दलकुमारीका अनुसार त्यो दिन पूजा हुने एकहाँसे साँढालाई बुकीफूलले सृंगार गरी माढैमा सिर्पाली पूजारीले मन्छाएपछि त्यो भूमे बन्छ । त्यसलाई सबैले भूमे भनेर चिन्छन् । त्यसलाई हिडाउने गाउँको बाटोलाई भूमे हिड्ने बाटो भनिन्छ । त्यो बाटोमा कोही कसैले भूमेलाई रोक्नु हुँदैन भन्ने विश्वास छ ।
सामान्य त मगर जातिका मिथकहरुमा सर्पले मानिसलाई आक्रमण गर्ने र खाने गरेको कथाहरु दुर्लभ पाइन्छन् । बरु मानिसले सर्पसँग विवाह गरेको, सर्पसँगै ओलोप भएको, सर्पलाई सहयोग गरेको जस्ता लोककथाहरु छन् । यसमा सर्पले मान्छे खाएको भन्ने विषयमा केही विरोधाभाष सृजना गरेको देखिन्छ । नेपालमा आरन संचालन गरी फलामको औजार बनाउनकै लागि नेपालका आदिवासी बस्तीहरुमा पुगेर दलित समुदायले बस्ती गर्न थालेको करिब २ सय बर्ष जतिमात्र भएको देखिन्छ । यो सन्दर्भमा विशुध्द जमिनको अनुस्थान गर्ने भूमिकामा सिर्पाली कसरी पुग्यो ? पूजारी हुन सक्ने मगरहरुको असक्षमता वा अन्य कुनै कन्सीपेरसी छ कि ? यसले थुप्रै शंका उपशंका जन्माएको देखिन्छ ।
काँक्रीमा प्रचलित मिथक :
केही वर्ष पहिले गाउँमा पूजाको साँढा अभाव भएकोले अन्त गाउँबाट ल्याइयो । सोही वर्ष सिध्द थान भएर आँधीबेहरी आएर ठूलो धनजनको क्षति भयो । पछि थाहा भयो त्यो साँढा मृतकको नाममा चढाएको रहेछ । यसरी जुठो साँढा चढाउँदा गाउँले ठूलो क्षति बेहोर्नु परेको हुँदा उप्रान्त साँढा गाउँ मै व्यवस्था गर्ने नियम बनाइयो । काँक्रीको कथामा चौरासी सिध्दलाई मुख्य शक्तिको रुपमा मानिएको छ । यहाँ आँधीबेहरी ल्याउने शक्तिको रुपमा चौराशी सिध्दलाई मानिएको छ । यहाँ भूमिको पूजा थान बनाएर गरेको पाइएको छ । अन्य ठाउँमा भूमिको पूजा चोखो जमिनमा हुने गरेको छ । काँक्रीको सम्बन्धमा भूमिलाई भन्दा पनि अन्य शक्तिहरुलाई अनुस्थान गरेको देखिएको छ । टकसेरामा लुगुमकै मिथक प्रचलनमा छ । त्यसैले टकसेरामा लुगुमकै नियम, विश्वास र मान्यताहरु रहेको देखिन्छ । निसीखोलामा पनि यस सम्बन्धी मिथक पाइएको छैन ।
मिथकहरुको समिक्षा :
मिथक अनुसार पूजा गर्नु पर्ने ३ वटा मोटिभेशनल आइडिया पाउन सकिन्छ । थबाङमा जमिन थाम्ने उदेश्यले यो पूजा भएको देखिन्छ । आफ्नो भूमि र आफ्नो समुदाय बचाउन ज्येष्ठ व्यक्तिले नामचुन हुन तयार भएको देखिन्छ । थबाङको नाम्कमा प्रकृतिको निर्ममताबाट जमिन र मानिस जोगाउन गाउँको ज्येष्ठ पुरुषबाट समर्पणको भावना देखिन्छ ।
यस्तै लुगुममा दुष्ट व्यवहार देखाउने भूमि देउताको प्रतिक नाग तथा सर्पलाई काबूमा ल्याउन सकेको उपलक्ष्यमा विजयोत्सवको रुपमा यो पर्व मनाएको देखिन्छ । यो पर्व सिर्पालीको बहादुरीको कदर हो भन्न सकिन्छ । माढैमा भूमेलाई मन्छाएपछि सिर्पाली पूजारीलाई बोकेर घर पुर्याइन्छ र अमनेसमने गरिन्छ । ओतन पूजारीलाई पनि अमनेसमने गरिन्छ तर यो अतिरिक्त पूजाको रुपमा लिइन्छ ।
काँक्रीको मिथक अनुसार त्यहाँ भूमि भन्दा पनि चौरासी सिध्दलाई विशेष पूजा गरिन्छ । यसमा कुनै पनि शक्तिको मर्यादा जोगाउनुपर्छ, अबहेलना गर्नु हुँदैन भन्ने सन्देश देखिन्छ । यहाँ थबाङको जस्तो समर्पण र लुगुमको जस्तो पराक्रमको पूजा हुँदैन । यहाँ चौरासी सिध्दप्रति इमान्दार र कर्तव्यनिष्टता प्रकट गर्नु पर्ने सन्देश दिन्छ । निसीखोलाको नाँखाँ पूजा भने गाउँको सुरक्षासँग जोडिएको छ । कापाईहरुले लठ्ठी ठटाउँदै गाउँबाट दुष्ट शक्तिहरुलाई गाउँ निकाला गर्छन् । टकसेरा र लुगुमको भने धेरै समानता भेटिएको छ ।
बुकी यात्रामा खास खास भिन्नता छ । थबाङभन्दा लुगुम, टकसेरा र काँक्रीमा विशेष देखिन्छ । यी गाउँमा बुकीमा जलाकीलाई पूजा गरिन्छ । लुगुममा त झन खलक अनुसारका जलाकी रहेका छन् । ती जलाखीमा धारधूप र फूल चढाउन खलकको प्रतिनिधि त्यहाँ पुग्न अनिवार्य छ । मुर्लाहरु उतै गाड्ने चलन छ । थबाङमा भने जलाकी हुँदैन । मुर्ला गाउँमै झारेर गाड्ने प्रचलन छ । जलाकी पूजाका माध्यमबाट पूर्वजहरुको सम्मान र संझना गर्न लुगुम, टकसेरा र काँक्रीको विशेष र अनुपम प्रचलन छ ।
नाम्क पूजाको व्यवस्थापन गर्न थबाङमा औपचारिक संस्था गठन हुने व्यवस्था छ । यसमा युवा र युवतीहरुको समूह हुन्छ जसलाई मुलथाङ्गे भनिन्छ । लुगुम, टकसेरा र काँक्रीमा गाउँका भद्रभलाद्मीको निर्देशनमा पूजाको कार्य सम्पन्न हुन्छ ।
बाजा फुकाउने कार्य लुगुम र थबाङको उस्तै देखिन्छ । थबाङमा मुलथाङ्गे दमाई नामचुन कहाँ जान्छ भने लुगुममा युवायुवतीहरु भद्रभलाद्मीको स्वीकृतिमा दमाईकहाँ पुगी बाजा फुकाउँछन् ।
नयाँ कार्यको आरम्भ :
यो पर्वलाई सबै बस्तीहरुमा नयाँ आर्थिक बर्षको रुपमा अभ्यास गरेको देखिन्छ । चरन क्षेत्र पहिचान गर्ने, चरनको बर्जो र फूकाउने कार्य गर्ने । बस्तीमा नयाँ घर भए गणनामा राख्ने । गैरी गएको र हराएको भए घर कुरीयाबाट हटाउने । युवायुवतीहरुबीच आपसी मन मिले विवाह हुने लगायतका नयाँ आरम्भ गर्नु पर्ने कार्यहरु शुरु गरिन्छन् ।
बस्तीमा रहेका समानता र भिन्नताहरु :
अध्ययन क्षेत्रका बस्तीमा भूमिको पूजा हुने, भूमिलाई बली दिने, बुकी यात्रा हुने, मूर्लाको प्रयोग हुने, नयाँ योजना नियम र बार्षिक कार्यक्रम बनाउने, बलीमाथि ध्वाँसो फाल्ने, नोकोबाङ्गे नाच नाचिने र प्रेम र विवाहको अवसर हुने गर्दछ । यस्तै पर्वको नाम थबाङमा नाम्क, लुगुममा भूमे, टकसेरामा भूल्कु, काँक्रीमा बल्क र निसीखोलामा नाँखाँ पूजा भन्ने गरिएको छ । पूजाको अवधि फरक फरक देखिन्छ । थबाङ, लुगुम र टकसेरामा अषाढ १ गत्ते तर काँक्रीमा जेठ मसान्तको दिन हुने गरेको छ । निसीखोलामा अषाढ १ गत्ते भएपनि तिया बर्षमा हुने गरेको पाइएको छ ।
बाजा फुकाउने काम थबाङमा जेठ १५, लुगुम र टकसेरामा जेठ १ गत्ते र काँक्रीमा बैसाख पूणर्िमाको दिन हुने गरेको छ । थबाङ र काँक्रीमा वंशाणुगत पूजारी रहेको देखिन्छ । लुगुममा सिर्पाली कामीको मुख्य भूमिका देखिएको छ । मार हान्ने र डोर्याउने राशी हेरेर छनौट हुने देखियो । ओतन पूजा भने दग्गामी पोनले गर्ने गरेको पाइयो । टकसेरामा पनि राशी हेरेर छनौट हुने देखियो । थबाङमा मानव बलीको लेगेसी देखियो तर अन्य गाउँमा देखिदैन । थबाङमा बोका, लुगुम, टकसेरा र काँक्रीमा साँढा तथा निसीखोलामा बाख्री बलीको रुपमा रहेको देखियो । थबाङमा पूजा व्यवस्थापनका लागि मूलथाङ्गे गठन हुने गरेको तर अन्य गाउँमा त्यो देखिएन । थबाङमा नामचुन हुन्छ अन्य गाउँमा यो अवधारणा छैन ।
भेटिएका तथ्यहरु :
नोकोबाङ्गे सहितको नाम्क पर्व पर्वते खाम भाषिका क्षेत्रमा मात्र प्रचलित छ । अध्ययन गरिएका क्षेत्रमा हुने पूजा जमिन अथवा भूमिकै नाममा रहेको देखिन्छ । त्यसैले यो नाम पूजा हो भन्न सकिन्छ । प्रकृति पूजा हो भन्न सकिन्छ । भूमि पूजाको प्राचीनता हेर्ने हो भने तुलनात्मक रुपमा थबाङको देखिन्छ । मिथक बढी बस्तुपरक देखिन्छ । नामचुन प्राचीनता अवगत गराउने तथ्य हो । लुगुमको भूमे पूजा प्रकृयामा तुलनात्मक रुपमा बढी हिन्दु कोलोनाइज्ड भएको पाइयो । लुगुमको प्रचलित मिथकमा कन्सीपेरेसी थ्यौरी रहेको जस्तो देखिन्छ । पूजारीको भूमिकामा सिर्पाली कसरी पुगे भन्ने रोचक खोज हुन सक्छ । राशी हेरेर पूजारी छनौट गर्ने विधि सुधारिएको अभ्यास हुनसक्छ किनभने प्रचलित पात्रो अभ्यासमा आएको १२२ बर्ष मात्र भयो । त्यो पनि सरकारी तहमा प्रयोगमा ल्याएको हो । अझ आम मानिसहरुमा त निकै पछाडी मात्र अभ्यासमा आएको देखिन्छ ।
लुगुम, काक्री र टकसेरामा जलाखी निर्माण गरी आफ्ना पूर्वजहरुलाई गोङमा राखेर सम्मान गरेको पाइयो । उनीहरुलाई बुकी फूल चढाउने गरिन्छ । थबाङमा बजु बराहालाई उनीहरुकै थानमा बुकी फूल चढाइन्छ । लुगुम काक्री र टकसेरामा जलाकी निर्माण गरी धजाधूप गर्ने विशिष्ट चलन छ । यो आफ्नो खलकको पितृपूजाकै रुप हो ।
नोकोबाङ्गे नाच :
नाम्कमा नाचिने नाचलाई थबाङमा नोकोबाङ्गे, लुगुममा नोगोबाङ्गे वा भूमे नाच, टकसेरामा बलपूजा नाच, काँक्रीमा पूजा अघि नौबाङ्गे र पूजापछि बल्क राम भनिन्छ । निसीखोलाको नाँखाँ पूजामा कापाई नाच नाच्ने गरिन्छ । कापाई भने भिन्न खालको नाच हो ।
उत्पत्ति र मिथकहरु :
नोकोबाङ्गे नाचको सबैभन्दा उन्नयन कोलमा भएको देखिन्छ । कोलमा २२ वटा चाला जीवित छ । नोकोबाङ्गे नाचको २२ वटा चाला हुन्छ । काँक्रीमा खञ्जना चालालाई व्यवस्थित र उन्नत गरिएको छ । यसको उत्पत्तिको तथ्यहरु केलाउँदा थबाङतिर भेटिन्छ । जलजला क्षेत्रमा नो ङन (वन नो ङन) प्रशस्त मात्रामा पाइन्छ । यसको साग खाने चलन व्यापक रुपमा छ । जलजलाको आसपासका गाउँहरु थबाङ, मिरुल, उवा, जेल्बाङ, धबाङ, ह्वामा लगायतका गाउँबाट नो ङन टिप्न जाने चलन छ । आजभोलि नो ङन टिप्ने सिजन हो ।
गाउँका युवायुवतीहरु नो ङन टिप्न ठगान राखेर जाने गर्दछन् । नो ङन टिप्न गएकाहरु एकरात उतै बास बस्छन् । खाजा खाना लगेर उतै नाचगान गर्छन् । ती नो ङन टिप्नेहरुले विकास गरेको नाच भएकोले यसलाई नोकोबाङ्गे नाच भनिएको हो भनिन्छ । थबाङका दिनेश रोकामगरका अनुसार ’नो’ भनेको वन लसुन ’को’ भनेको छोडाउने र ‘बाङ’ भनेको चौर हो । नो ङन टिप्नेहरु चौरमा बसेर वन लसुन छोडाउँदै जिस्किदै नाचेकोले नोकोकाङ्गे भएको हुनसक्ने बताएका छन् ।
यस्तै थबाङका रुपस्या र जीतार्या (काल्पनिक नाम)ले गाईबस्तु जलजलाको बुकीमा छोडेर नो टिप्नेहरुसँग मुख र थाल ठटाएर नाच्दै जिस्किने गर्थे । उनीहरु गाईबस्तु अषाढमा बुकीमा छोडेर रुकुम बाग्लुङसम्म घुम्न जाने र उतै छोट्टी बस्ने गर्थे । त्यहाँ पनि उनीहरु जिस्किदै मुख बजाएर नाच्ने गर्थे । पछि यो नाच नाम्क पर्वसँग जोडियो । नोकोबाङ्गे नाच र बाजाको व्यवस्थित विकास र सुधार झुनुङ सेरजाले गरेको भन्ने भनाई रहेको पाइन्छ ।
झुनुङ सेरजा :
नोकोबाङ्गे नाचलाई व्यवस्थित रुपमा विकास र समृध्द बनाउने कार्यमा झुनुङ सेरजाको मूख्य भूमिका रहेको हिकमतसिंह रोकामगरले आफ्नो डकुमेन्ट्रीमा उल्लेख गर्नु भएको छ । उहिल्यै थबाङका बैजाली रोकामगरहरुको झुनुङ नामको ग्वाला थिए । उनी बर्षभरी अत्यन्त व्यस्त हुन्थे । भेडा बाख्रा तथा अन्य पशु चौपाया चराउन र रेखदेख गर्नु पर्थ्यो । उनलाई अरु समयमा छुट्टी थिएन । उनलाई नाम्क पर्वको अवधिभर भने विदा मिल्थ्यो । उनी नाच्न सिपालु थिए । उनले नोकोबाङ्गे नाचको पारम्परिक ताल र चाललाई सुधार र विकास गरे । उनी आफू ग्वाला भएकोले ग्वालाले गर्ने काम नै नाचको तालमा राखे । आज पनि नाचमा गाई दुहुने चाला, पानी भर्ने चाला, फूल टिप्ने चाला, सप्को हाल्ने चाला, कोखा हान्ने चाला, खर्गैकोने चाला लगायतका मौलिक चालाहरु छन् ।
यो नाचमा महिला र पुरुष गोलो घेरा बनाएर नाच्छन् । पुरुषहरु भित्री घेरा र महिलाहरु बाहिरी घेरामा नाच्छन् । दुवैका आआफ्ना अगुवा हुन्छन् । हरेक ताल फरक फरक हुन्छ । पुरुष र महिलाको नाचको ताल भने फरक फरक हुन्छ । महिलाहरु पछ्यौरी समाएर नाच्नुपर्छ । पुरुषहरु भने विभिन्न २२ वटा चालमा ताल मिलाएर नाच्नु पर्छ । नोकोबाङ्गे नाच थबाङमा उत्पत्ति भएको तथ्य भेटिएपनि थबाङले केही अवधि नाच बचाउन सकेन । एकपटक थबाङमा आएको भूबरीले गाउँको ठूलो जनसंख्या सखाप भयो । यसले नाच्न जान्ने मानिसहरु मरे । नयाँलाई थाहा भएन । त्यै भएर पछि लुगुमबाट नाच सिकेर ल्याएको भन्ने तथ्यहरु भेटिएका छन् । नोकोबाङ्गे नाच आज पर्वते मगर खाम भाषिका समुदायमा विस्तार र विकास भएको छ ।
विभिन्न बस्तीका नोकोबाङ्गे चालाहरु :
थबाङ गाउँमा नाचिने नोकोबाङ्गे नाचको चाला : १० चाला
-उठाउने चाला
-खर्गै कोन्या
-बाछा पिने
-एकसरे ढल्कनी (पल्टाउने)
-दोहोरी ढल्कनी
-सप्काउने चाला
-साङ्गलबाटे चाला
-दोसरे बटुवा चाला
-एकसरे बटुवा
-खन्जना
(थबाङ्गी समाज काठमाण्डौँ)
काँक्री गाउँमा नाचिने चालाः १५ चाला
-गुरु चाला
-वै टिने चाला
-मुख जोरुवा चाला
-तिन पाइले चाला
-चारपाइले चाला
-ढल्कनी चाला
-घुमाउने चाला
-हात मिलाउने चाला
-गाई दुहुने चाला
-पछ्यौरा फाल्ने चाला
-सिमाले पाते चाला
-खर्गे कोने चाला
-एकसरो घुमाउने चाला
-रुम रुमे चाला
-कन्ना बसाल्ने चाला
-कन्ना बसाल्ने चाला
(रोकामगर, २०८०)
कोल गाउँमा नाचिने चाला : २२ चाला
-नोगोबाङ्गे चाला
-एकोहोरे नोगोबाङ्गे चाला
-दोहोरे नोगोबाङ्गे चाला
-तीन पाइले नोगोबाङ्गे चाला
-चौभाने नोकोबाङ्गे चाला
-खन्जना नोकोबाङ्गे चाला
-ढल्कनी नोगोबाङ्गे चाला
-घुँडा बसाल्ने नोकोबाङ्गे चाला
-पछ्यौरी फाल्ने नोकोबाङ्गे चाला
-ओ टिन्या नोकोबाङ्गे चाला
-गाई दुहुने नोकोबाङ्गे चाला
-कोखा काट्ने नोगोबाङगे चाला
-साङला बाट्ने नोकोबाङ्गे चाला
-सप्काउने नोकोबाङ्गे चाला
-उत्तरा फाल्ने नोकोबाङ्गे चाला
-मुख जोरोवा नोकोबाङ्गे चाला
-छटौरा नोकोबाङ्गे चाला
-घुमाउने नोकोबाङ्गे चाला
-सती नोकोबाङ्गे चाला
-बटुवा नोकोबाङ्गे चाला
-खर्गै कोन्या नोकोबाङ्गे चाला
-सलामी नोकोबाङ्गे चाला
(पुनमगर, २०८०)
लगुम गाउँमा नाचिने चालाः :१२ चाला
-नोगोबाङ्गे चाला
-दोहोरे नोगोबाङ्गे चाला
-तीनपाइले नोगोबाङ्गे चाला
-एकोहोरे नोगोबाङ्गे चाला
-रिकुई झ्याईगुम नोगोबाङ्गे चाला
-कम्मर बसाल्ने नोगोबाङ्गे चाला
-एकोहोरो दोहोरो नोगोबाङ्गे चाला
-कोखा काट्ने नोगोबाङ्गे चाला
-चौबाने/पछ्यौरा फाल्ने नवगोबाङ्गे चाला
-गाई दुहुने नोगोबाङ्गे चाला
ढल्कनी नोकोबाङ्गे चाला
-फूलटिप्ने नोगोबाङ्गे चाला
(घर्तीमगर, २०८०) ।
थबाङमा १० वटा, लगुममा १२ वटा काँक्रीमा १६ वटा र कोल गाउँमा २२ वटा चाला जीवित रहेको देखिन्छ । नाचहरु मध्ये गाई दुहुने चाला सबै गाउँमा पाइएको छ । यस्तै खर्गै कोन्या, ढल्कनी, एकसरे ढल्कनी, दोहोरो ढल्कनी र फूल टिप्ने चाला ३ वा सोभन्दा वढी गाउँमा पाइएको छ । साङलाबाटे, सप्काउने, खन्जना र बटुवा चालाहरु पनि धेरै गाउँका नाचमा पाइएको छ । यसले ती सबै प्राचीन चालाहरु हुन् भन्न सकिन्छ । यस्तै कतिपय चालाहरुको नाम फरक भएपनि चाला एकै भएको पाइएको छ । केही चालाहरु गाउँ अनुसार आफै विकास गर्दै गएको पनि पाइएको छ । यसमा स्थानीय मौलिकता र तिनको नाम स्थानीय रुपमै नामाकरण गरिएको देखिएको छ ।
यसबाट के भन्न सकिन्छ भने नोकोबाङ्गे नाचको उत्तपत्ति एक ठाउँबाट भएको र विकास र विस्तार विभिन्न गाउँमा क्रमबध्द हुँदै गएको हुनसक्ने देखिन्छ । यो नाचमा नचारुको गोलो घेरा बन्छ । नाचमा महिला र पुरुष दुवैको समान सहभागिता हुन्छ तर चाला फरक फरक हुन्छ । नाचमा दमा, सहनाई र पैजन बाजाको प्रयोग हुन्छ । चालको लय बर्षाको झरीको लयसँग मिल्छ । यो लय झ्याम् झ्याम् झ्याम् झ्याम….. झ्याम् झ्याम् झ्याम् झ्याम आवाजमा लयबध्द भएर बजाइन्छ ।
गीतको प्रयोग :
नाम्क पर्वका विभिन्न चरणमा गीतहरु पनि गाइन्छ । जस्तो सरालसिने, स्यामो, तोरगीत, न्याहो आदि । थबाङमा न्याहो गीत गाइन्छ । न्याहो गीतको विषय प्रकृति, सृष्टि, जनावर, वनस्पती तथा युवायुवती बीचको सौन्दर्य वणर्न हुन्छ । यो गीत एकजनाले भट्याउने र अरुले न्याहो भन्ने हो । सरालसिने गीत अर्को महत्वपूणर् गीत हो । यो गीत थबाङमा गाइँदैन । यो गीत लुगुम, टकसेरा र काँक्री एवम् अन्य गाउँमा गाइन्छ । यस्तै सरालसिने गीत बुकी फूल टिपेर फर्कदा बाटोमा युवा युवतीहरुले गाउँछन् । युवाहरुले बुकीको फूलको वणर्न गर्छन् भने युवतीहरुले बेशीको फूलको वणर्न गर्छन् ।
यसरी गीतका माध्यमबाट युवायुवतीहरुबीच सरालसिने गीतको दोहोरी चल्छ । यो गीत गाउँमा गाउन पाइँदैन । यस्तै स्यामो गीत टकसेरा तिर अति प्रचलित छ । यो गीत नोकोबाङ्गे नाच्दा नाच्दै गाइन्छ । यो गीतमा सबैले स्यामो भूमे स्यामो भनेर गाउँछन् । लुगुममा पनि यो गीत प्रचलनमा छ । काँक्रीमा सरालसिने गीत, तोर गीत प्रचलनमा रहेको छ । तथ्यहरु केलाउँदा सरालसिने गीत लुगुम, स्यामो गीत टकसेरा र तोरगीत काँक्रीतिर विकास भएको जस्तो देखिन्छ तर यसको थप अध्ययन आवश्यक छ । न्याहो गीत पनि थबाङमा लुगुमबाट गएको हुन सक्ने अनुमान गर्न सकिन्छ । सरालसिने गीत नै न्याहो गीत हुन सक्ने अनुमान गर्न सकिन्छ ।
निष्कर्ष :
नाम्क जमिनको पूजा हो । यसलाई ठाउँ अनुसार भूमे, भूम्या, बल्क, भूल्कु नाँखाँ भन्ने गरिन्छ । नाम पूजाको प्रकृया बस्ती सापेक्ष देखिएको छ । पूजा प्रकृयामा विविधता छ, यसो हुनु आदिवासीहरुको मुख्य विशेषता हो । नाम्क मगर जातिको सांस्कृतिक पहिचानको महत्वपूणर् सम्पदा हो । यसको संरक्षण र सम्बर्ध्दनले इतिहास, समाज विकास तथा मूल्य निर्माणमा योगदान गरेको छ । नाम्कसँग नाच तथा गीतहरु जोडिएका छन् यसले समाजलाई सृजनात्मक, सामुहिक भावनाको जागरण, आपसी सदभाव प्रवर्ध्दन गर्न सघाउ गर्दछ । नोकोबाङ्गे नाच राष्ट्रियकरण हुँदै गएको छ । महिला पुरुषको सामुहिक सहभागिताले यसलाई अझ महत्वपूणर् बनाएको छ । यो पर्वलाई मगर खाम भाषीहरुको पहिचान र अपनत्वको निमित्त नाम्क र नाचलाई नोकोबाङ्गेको रुपमा पुनर्जागृत, संरक्षण र प्रवर्ध्दन गर्न उपयुक्त हुने देखिन्छ । मगर जातिको अमूर्त सांस्कृतिक धरोहर नेपालको अनुपम सांस्कृतिक सम्पदाको रुपमा स्थापित हुँदैछ । यो मगर समुदाय र आम नेपालीको निमित्त गौरबको विषय हो ।
(मिति २०८१ जे७ २८ गत्ते मगर प्राज्ञिक परिषद र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रतिष्ठानको देवकोटा हलमा प्रस्तुत गरिएको कार्यपत्र)
सन्दर्भ सामग्रीहरु :
Hemant Rai Official. (2023, May 25). Bhume Parb-Nepali Culture & Festival_Magar [Video]. Youtube. https://www.youtube.com/watch?v=AyUdk479lFY&t=75s HikmatSing Roka. (2014, December 24) Bhumya Festival Documentary 2013 in Rolpa, Thabang Part-1 . Youtube. https://www.youtube.com/watch?v=49n94ye_l0c Kaeppler, A. L. (1978). Dance in anthropological perspective. Annual Review of Anthropology, 7, 31-49. Mirror Nepal. ( 2020, October 12). Balku (Bhumi Puja) Documentary#18 Magarat Cultural Festival#MirrorNepal [Video]. Youtube. https://www.youtube.com/watch?v=vwLbmcJWGlA Miet Vlogs. (2023, April 21). Myagdi Doba Bhume Puja Day Two 2023 [Video]. Youtube. https://www.youtube.com/watch?v=zCTT1SGQsxM Müller, F. M. (1878). Lectures on the Origin and Growth of Religion as Illustrated by the Religions of India. Longmans, Green, and Co. Schechner, R. (1988). Performance Theory. Routledge. UNESCO. (n.d.). Retrieved November 8, 2019, from https://thahakhabar.com/news/368/
घर्तिमगर, बलबहादुर (२०७१), मगर संस्कार, आदिवासी जनजाति महासंघ, रोल्पा । घर्तीमगर, देविका (२०७३ असार गते), भूमिको पूजा गर्दै रिडी पारीका मगर समुदाय, यस्तो छ भूमेको इतिहास, थाहाखबर डटकम, https://thahakhabar.com/news/368/
घर्तीमगर, हर्कबहादुर (२०८०), भूमे-लुगुम, पुनमगर, मनबहादुर (सम्पा.), भूमे (१३-५८), नेपाल मगर संघ ।
रोकामगर, मदन (२०८०), भूमे (बल्क), पुनमगर, मनबहादुर (सम्पा.), भूमे (७१-९५), नेपाल मगर संघ ।
मगर हिमाल, जे.आर. (२०७७), रोल्पा रुकुम र बाग्लुङका मगरहरुको भाषा, साहित्य र संस्कृति, समृध्द रोल्पा फाउण्डेशन, रोल्पा ।
श्रीस मगर, मिन (२०६७), मगर जातिको चिनारी, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान, जावलाखेल ललितपुर ।
रोकामगर, नविन (२०८०), भूमि पर्वको महत्व र विस्तार, पुनमगर, मनबहादुर (सम्पा.), भूमे (१-६), नेपाल मगर संघ ।
सिङ्जालीमगर, विष्णुकुमार (२०८०), समे भूमे पितृ देउता, प्रकृति र भूयाँर पूजा तथा मगरहहरु, पुनमगर, मनबहादुर (सम्पा.), भूमे (५९-६३), नेपाल मगर संघ ।