• मंसिर १३ २०८१, बिहीबार

वैशाखमा ५४ खर्बभन्दा बढी डिजिटल भुक्तानीको कारोबार 

जेष्ठ ३० २०८१, बुधबार

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख महिनामा ५४ खर्ब भन्दा बढी डिजिटल भुक्तानीको कारोबार भएको छ । खासगरी बढ्दो मोबाइल बैंकिङको प्रयोग, विद्युतीय माध्यमबाट हुने इन्टरनेट बैंकिङ, विभिन्न वालेट सेवा, क्यूआर, प्रिपेड तथा डेबिटरक्रेडिट कार्डमार्फत बढी भुक्तानी हुँदा यो महिना कूल ५४ खर्ब ४८ अर्ब ४५ करोड १० लाख रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार समीक्षा अवधिमा २ करोड ३७ लाख ९७ हजार मोबाइल बैंकिङ प्रयोगकर्ताहरूबाट ३ खर्ब २० अर्ब १९ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । अघिल्लो चैत महिना यस्तो कारोबार २ करोड ४० लाख प्रयोगकर्ताहरूबाट २ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो महिना तुलनात्मक रूपमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या केही घटेको तर कारोबार भने बढेको देखिन्छ ।

यस्तै, समीक्षा अवधिमा १९ लाख ३८ हजार इन्टरनेट बैंकिङ सेवा प्रयोगकर्ताहरूले १२ अर्ब ७७ करोड रुपैयाँ, विभिन्न वालेट भुक्तानीका २ करोड २६ लाख प्रयोगकर्ताहरूबाट २८ अर्ब ४३ करोड रुपैयाँ र क्यूआर कोर्डमार्फत ५२ अर्ब ७५ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

यता डेबिटरकेडिट कार्डबाट भने समीक्षा अवधिमा क्रमशः ९७ अर्ब १२ करोड रुपैयाँ र १ अर्ब ८९ करोड रुपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै कनेक्ट आईपीएसबाट ५ खर्ब २२ अर्ब ७० करोड रुपैयाँको भुक्तानी कारोबार भएको छ भने समीक्षा अवधिमा सबैभन्दा कम प्रिपेड कार्डमार्फत जम्मा ६५ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ ।