जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन् । सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ । समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ ।’
उनले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यस्थित रुपमा लानको लागि छलफल जारी रहेको बताए । उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे ।
‘नेपालमा समाजवादी आन्दोलन चाहिन्छ । छलफलहरु अगाडि बढिरहेको छ । त्यसकारण मोर्चालाई निरन्तरता दिन आवश्यक छ ।’ उनले भने ।
उनले विश्वमा पुँजीवादले ठूलो युद्धको षडयन्त्र गरिरहेको बताए । उनले विश्व बजार, पैसा, अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेलवाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्वयुद्धतिर लगिरहेको बताए ।