काठमाडौं । भारतका ‘सबैभन्दा धनी’ सांसद चन्द्रशेखर पेम्मासानी आइतबार मन्त्री बन्ने लगभग तय भएपछि उनको सम्पत्तिको चर्चा पुनः चुलिएको छ । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले आइतबार साँझ लगातार तेस्रोपटक प्रधानमन्त्री पदको शपथ लिँदै छन् । त्यसपछि आजै कम्तीमा ४३ जनाले मन्त्री पदको शपथ लिनेछन् ।
आइतबार मन्त्रीको शपथ लिनेको सूचीमा पेम्मासानीको पनि नाम छ । हालै सम्पन्न लोकसभा निर्वाचनमा उनी तेलुगु देशम पार्टीबाट विजयी भएका थिए । लोकसभा निर्वाचनताका नै पेम्मासानी चर्चामा थिए । चर्चामा रहनुको कारण थियो, उक्त निर्वाचनमा उमेदवारी दिनेमध्ये उनी सबैभन्दा धनी उमेदवार थिए ।
मन्त्री बन्ने भएपछि उनको सम्पत्तिको चर्चा फेरि चुलिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, उनको सम्पत्ति ५७ अर्ब भारतीय रुपैयाँ (९१ अर्ब २० करोड नेपाली रुपैयाँ)भन्दा बढी छ । मोदीले पेम्मासानीलाई राज्यमन्त्री बनाउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनी आन्ध्र प्रदेशको गुन्टुर क्षेत्रबाट निर्वाचित भएका हुन् ।
उनले उस्मानिया विश्वविद्यालयबाट एमबीबीएस गरेका थिए । जोन हप्किन्स विश्वविद्यालय–सिनाई अस्पतालमा उनले फिजिसियनका रूपमा पाँच वर्ष सेवा गरेका थिए । ४८ वर्षीय पेम्मासानी युवल्र्डका संस्थापक तथा सीईओ हुन् । उनले सन् २०२० मा अमेरिकामा एक युवा उद्यमीका रूपमा अन्स्र्ट एन्ड योङ अवार्ड जितेका थिए । उनले पेम्मासानी फाउन्डेसन पनि स्थापना गरेका छन् ।