काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपाल विभाजन भएको छ । शनिवार काठमाडौँमा भेला गरी पार्टी अध्यक्ष माधवकुमार नेपालका भान्जा नितेश पौडेलले समानान्तर कमिटी गठनको घोषणा गरेपछि युवा सङ्घ विभाजन भएको हो ।
अध्यक्ष नेपालले आफ्नै भान्जालाई अघि सारेर युवा सङ्घ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गर्न लगाएको संस्थापन पक्षको आरोप छ । युवा सङ्घका पूर्वअध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री भएपछि २०८० भदौमा फागुनमा कृष्ण विश्वकर्मा संयोजक र नितेश पौडेल सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी बनेको थियो ।
२०८० फागुनभित्र महाधिवेशन गर्ने म्यान्डेट विश्वकर्माको कमिटीलाई पार्टीले दिएको थियो । तर, महाधिवेशन तोकिएको मितिमा नगरेर कार्यकाल लम्ब्याएको भन्दै शनिवार सहसंयोजक पौडेल समूहले आफ्नै संयोजकत्वमा फुर्वा लामा सहसंयोजक रहेको समानान्तर कमिटी घोषणा गरेको हो ।
समानान्तर कमिटी गठन गर्ने पौडेलसहितका नेताहरूलाई विश्वकर्मा नेतृत्वको समितिले जेठ २७ गते आइतबार कारबाही गरेको घोषणा गरेको छ । संयोजक कृष्णकुमार विश्वकर्माले आइतबार जारी गरेको विज्ञप्तिमा नितेश पौडेल, रोशन थापा र फुर्वा लामालाई सङ्गठनको विधानको धारा १०.३ को उपधारा ख र च बमोजिम सङ्गठनको सबै जिम्मेवारीबाट निष्कासन गरेको उल्लेख छ ।
यता पार्टी अध्यक्षकै भान्जाको अगुवाइमा समानान्तर कमिटी बनाएपछि नेकपा एकीकृत समाजवादीका नेताहरू नै आश्चर्यमा परेका छन् । नेकपा एकीकृत समाजवादीका एक नेता भन्छन – ‘युवा सङ्घभित्रको विवादमा भान्जाको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरिनुले यसलाई पार्टी अध्यक्षकै संरक्षण रहेको छैन भनेर कसरी विश्वास गर्ने ? पार्टी अध्यक्षले दुवै पक्षलाई राखेर मिलाउनुपर्नेमा भान्जालाई समानान्तर कमिटी घोषणा गर्न लगाएर तमासा देखाए ।’