• असार १३ २०८१, बुधबार

मलेरिया नसार्ने लामखुट्टे

जेष्ठ २७ २०८१, आईतवार

हानिकारक जीवलाई अहानिकारक जीवले नै नियन्त्रण गर्ने विधि जैविक विधि हो । यो वातावरणमैत्री हुन्छ । किनकि ती हानिकारक जीव नास गर्न कुनै विषादी वा अजैविक उपाय यसमा प्रयोग हुँदैन । यस्तो खेती मानिसले गर्दै आएको छ पनि ।

पछिल्लो समयमा यस्ता जीव तथा वनस्पतिको खेती गर्दै आएका वैज्ञानिकले लामखुट्टेको खेती गरिसकेका छन् । अहिले यो खेतीको प्रयोग पूर्वीअफ्रिकी देश गणतन्त्र जिवुटीमा प्रयोग गरिएको छ । ल्याबमा खेती गरिएका लामखुट्टे त्यहाँको स्थानीय वातावरणमा छाडिएको छ । ती लामखुट्टे आनुवांशिक रूपमा परिवर्तित छन् र त्यसअनुसार हानिकारक लामखुट्टेको आनुवांशिकमा परिवर्तन ल्याउँदै गरेका छन् ।

एकपछि अर्को गरी प्रयोगशालामा उत्पादित यी लामखुट्टे औलो रोग फैलाउने लामखुट्टेको प्रजातिलाई फैलनबाट रोक्न स्थानीय क्षेत्रमा छाडिएको हो । यी लामखुट्टे एनोफिलिस स्टेफेन्सी प्रजातिका हुन् । बेलायती एक बायोटेक कम्पनी अक्सिटेकले यसको विकास गरेको हो । यो लामखुट्टेले मानिसलाई नटोक्ने बनाइएको छ ।

स्थानीय खुल्ला वातावरणमा छाडिएका यी लामखुट्टेमा रहेको जिनले नयाँ जन्म भएका लामखुट्टेमा आनुवांशिक परिवर्तन ल्याइदिन्छ । मानिसमा औलो रोग फैलाइरहेका स्थानीय प्राकृतिक लामखुट्टेसँग यी ल्याबमा विकास गरिएका लामखुट्टेले संसर्ग गरेपछि जन्मिएका नयाँ लामखुट्टेका पोथी लामखुट्टे प्रौढ हुनुभन्दा अगाडि नै मर्दछन । प्राकृतिक रूपमा जन्मिएका भाले लामखुट्टेले मानिसलाई टोक्दैनन् । मात्र पोथी लामखुट्टेले टोक्छन् । मानिसलाई रोग सार्ने पनि पोथी लामखुट्टे हुन् ।

पोथी लामखुट्टे वयस्क हुनु अघि नै मरिहाल्ने आनुवांशिकी प्रयोगशालामा उत्पादित लामखुट्टेमा हुने भएकाले यिनले औलोरोगजस्ता घातक रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न सहयोग पु¥याउँछन् । पूर्वीअफ्रिकामा खुल्ला वातावरणमा छाडिएको यो पहिलो घटना भए पनि विश्वमा भने यो नयाँ होइन ।

यसअघि ब्राजिल, क्यामेन टापु समूह, पनामा तथा भारतमा पनि यस्तै तरिका अपनाइएको थियो । यसबाट सफलता हात लागेकाले पनि यो प्रक्रियालाई विश्वमा निरन्तरता दिएको हो ।