काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्काउन धेरै टाउको नदुखाउन सुझाव दिएका छन् । पार्टीको कोसी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने विषय दिवास्वप्न मात्र भएको उल्लेख गरे । यसका निम्ति धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न उनले सुझाव दिए ।
राजतन्त्र फर्काउन खोज्नेहरूको स्वर अहिले मधुरो हुँदै गएको उनले बताए । पार्टीहरूको प्रवृत्तिको विरोध गर्ने गरिए पनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने उनले स्पष्ट पारे ।
अध्यक्ष नेपालले मधेस प्रदेशमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आए पनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ समीकरणकै निणर्यानुसार आफूहरू अघि बढेको बताए । मुलुकको परिस्थितिअनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको भूमिकालाई सकारात्मक रूपमा लिइएको बताए । समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
मुलुकलाई समाजवादको बाटोतर्फ अघि बढाउन जनवादी क्रान्तिको आवश्यकता पर्ने उनको धारणा छ ।