• असार १३ २०८१, बुधबार

ठमेलको सार्वजनिक गौचरण कसरी भयो व्यक्तिको नाममा दर्ता ?

जेष्ठ २५ २०८१, शुक्रबार

काठमाडौं । काठमाडौं ठमेल -२९ मा अवस्थित बज्रधातु चैत्य रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । नेपाल सम्वत् ८ सय ९ मा चैत्य रहेको सो क्षेत्र नेपाल सम्वत ८११ मा गौचरण कायम भएको थियो । सो जग्गा विसं २००१ सालमा सम्पूर्ण जग्गा सर्भे हदाँ गौचरण कायम भएको थियो ।

सो जग्गा २००६ साल साउन १४ मा गौचर कायम गर्नका लागि विन्तीपत्र निक्सारी श्रेस्ताफाँटको हुकुम प्रमाङी भएको थियो । तर, २०११ सालमा मानवर महर्जनले सो जग्गालाई का.नघल पोता नं ८१÷७७ मा रहेको ४ आना जग्गा आफ्नो र ३ आना जग्गा गुठीको जग्गा भनेर छोटपत्र गरेको पाइएको छ । सो जग्गा २०११ मंसीर१८ गते रजिष्ट्रेसन पारित गरेर आफ्नो बनाइएको पाइएको छ ।

मानवर महर्जनले सो जग्गा आफ्नो बनाउनका लागि नक्कली मोही खडा गरेको स्थानीयको आरोप छ । मानवरले २०११ माघ २१ मा मेरो गुठी दर्ताको कपताहा भन्ने ठमेल टोलको जग्गा केही जग्गालाई मोहियानी राजिनामा गरेर मचाभाई डंगोललाई राजिनामा दिएको उल्लेख छ । राजीनामा पछि मचाभाई डंगोलले २०१२ भाद्र महिनामा सो जग्गामा घर बनाउन नक्साको लागि निवेदन दिएको पाइन्छ । सो जग्गामा घर बनाउने प्रक्रिया अघि बढेपछि सधियार मरिचमान नकर्मीले नक्सापास विरुद्ध काठमाडौं महानगरमा निवदेन दिए ।

मरिचमान नकर्मीले दिएको निवेदनमा तत्कालीन काठमाडौं महानगरका प्रधान अफिसर मणिराम भण्डारीले २०१३ साल श्रावण १० मा सम्पूर्ण जग्गा २००६ सालको निर्णय अनुसार गौचर कायम हुने निर्णय गरेको थियो । काठमाडौं महानगरको सो निर्णय नै अन्तिम निर्णय भएर बसेको थियो । काठमाडौं महानगरको सो निर्णयविरुद्ध कतै पनि उजुरी परेन । तर, पछि २०२५ सालमा मचाभाई महर्जनले २०१३ सालमा काठमाडौं महानगरले गरेको निर्णय नै लुकाएर अदालतमा मोही खिचलो मुद्दा दर्ता गराए । महर्जनले गौचरणको जग्गालाई पर्ति गौचर जनाए २०३३ सालमा नापी भएको सो जग्गालाई ३ नं नापी गोश्वाराको २०३४ मंसिर २८ मा कित्ता नम्बर ११६ को जग्गा मध्ये पश्चिम तर्फको ४ आना जग्गा मध्ये १ आना ३ पैसा दक्षिण तर्फ कित्ताकाट गरि मचाभाई महर्जनको नाममा मोहियानी पास गरी लिएको देखिएको छ ।

२०३४ सालमा २०२५ सालमा जिल्ला अदालतबाट भएको फैसला राखेर लक्ष्मी नारायण र धन महर्जनले जग्गालाई रहिकर गरेर नापीमा जग्गा दर्ता गराउन सफल भएको उल्लेख छ । २०३४ भदौ ९ को कागजको आधारमा मचाभाईले कमाएको जग्गा समेत का.ई भोटाहिटी बस्ने लक्ष्मी नारायण रधम महर्जनको नाममा जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ को उपदफा ७ बमोजिम अस्थायी दर्ता गर्ने निर्णय भएको देखिन्छ ।

त्यसपछि २०३८ सालमा दाजुभाई खिचलो हक कायम भन्दै लक्ष्मी नारायण र धन महर्जनले मुद्दा लडे । जिल्ला अदालतले ११६ बाट कित्ताकाट भएको ३ कित्ता मध्ये ११९६ र ११९७ को दुई कित्ता जग्गामा ३ भाग व्यक्तिको नाममा र ११९८ नम्बर कित्ता सार्वजनिक भनी कायम भयो । जबकी तीन वटै कित्ता २००१ सालमा नापीबाट सर्भे हुदाँ एउटै कित्तामा राखेर सार्वजनिक भनि कायम भएको थियो । एउटा कित्तालाई टुक्रा बनाएर तीन भागमा विभाजन गर्नुले पनि सार्वजनिक जग्गा व्यक्तिको नाममा लैजानु नै जालसाजी भएको स्थानीयहरुको भनाई छ ।