• मंसिर ११ २०८१, मंगलवार

टी-२० विश्वकप प्रतियोगिताको पुरस्कार राशी घोषणा, नेपाली खेलाडीले कति पाउँछन् ?

जेष्ठ २१ २०८१, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अमेरिका र वेस्टइन्डिजमा जारी टी-२० विश्वकप प्रतियोगिताको पुरस्कार राशी सार्वजनिक गरेको छ । आईसीसीले सोमबार जारी गरेको पुरस्कार राशीअनुसार उपाधि जित्ने टिमले २.४५ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ । यस्तै उपविजेता टोलीले १.२८ मिलियन डलर पुरस्कार पाउने आईसीसीले जनाएको छ ।

यस्तै सेमिफाइनल पुग्ने टिमले ७ लाख ८७ हजार ५०० डलर पुरस्कार पाउनेछन् । सुपर एटमा पुग्ने टिमले ३ लाख ८२ हजार ५०० डलर पुरस्कार पाउनेछन् । विश्वकपमा सहभागी हुने २० वटै टिमले केही न केही पुरस्कार पाउने आईसीसीले जनाएको छ ।

जसअनुसार ९ देखि १२ भित्र रहने टिमले २ लाख ४७ हजार ५०० डलर र १३ देखि २० मा रहने टिमलाई २ लाख २५ हजार डलर पुरस्कार दिइनेछ । यसबाहेक प्रत्येक खेल जित्ने टिमलाई ३१ हजार १५४ डलर पुरस्कार दिइनेछ ।

आईसीसीले सम्पूणर् पुरस्कारका लागि ११.२५ मिलियन डलर खर्च गर्ने भएको छ । अमेरिका र वेस्टइन्डिजमा हुने प्रतियोगितामा नेपाल पनि सहभागी छ । नेपाल समूह डी रहेको छ । नेपालले मंगलबार पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपालले कुनै पनि खेल नजिते पनि कम्तीमा ३ करोड नेपाली रुपैयाँ बराबर पुरस्कार जित्नेछ । खेल जितेर अघिल्लो चरणमा पुगे नेपाल मालामाल हुनेछ ।