• मंसिर १३ २०८१, बिहीबार

गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो माग

जेष्ठ २१ २०८१, सोमबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा सोमबार ५ थान मुद्दा दायर गरेको हो । फरक–फरक शीर्षकमा मुद्दा पेस भएको र सोमबार दर्ताका लागि अख्तियारले फाइल पेस गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए ।

नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा दाबी गरिएको छ ।

अख्तियारले पेस गरेको एउटामात्र अभियोगमा ४ करोड दाबी गरिएको छ । राजश्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिवाना तथा भ्रष्टाचार निवारण ऐन अनुसार कैद पनि गर्न माग गरिएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बन हुने छन् ।

आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी उनीहरूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले मेयर महर्जनसहित ४ कर्मचारी र ( जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दामा विपक्षी बनाएको छ । अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्ट मुद्दा पेस गरेको हो ।