• मंसिर १३ २०८१, बिहीबार

अर्थमन्त्रीले आर्थिक अनुशासनहीनता देखाउनुभयो : रघुजी पन्त

जेष्ठ २१ २०८१, सोमबार

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेटमा ५ खर्बभन्दा बढीको स्रोत सुनिश्चितता दिइएको भन्दै आपति जनाएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले पूर्वअर्थमन्त्रीसँग मिलेर ५ खर्बभन्दा बढीको स्रोत सुनिश्चितता गरेर आर्थिक अराजकता र अनुशासनहीनता देखाएको पन्तको आरोप छ ।

‘५ खर्ब ८५ अर्ब अर्थात ६ खर्ब रुपैयाँभन्दा बढी रकमको बजेट सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ । ५ खर्बभन्दा बढिको स्रोत सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ विभिन्न मन्त्रालयहरूलाई । अब त्यो ५ खर्बको स्रोत सुनिश्चितता कसरी गर्ने ?’ पन्तले भने, ‘बजेटमा छुट्टयाइएको विकास योजनाहरूलाई बजेट कहाँबाट जुटाउने ? यो त उहाँको मात्र होइन, ५/५ खर्बको स्रोत सुनिश्चितता त्यतिकै दिएको होइन होला । खोज्नु परेन । यसले हाम्रो अर्थ मन्त्रालयमा देखिएको आर्थिक अराजकता र अनुशासनहीनतालाई देखाउँछ ।’

सोमबार प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पन्तले कुन–कुन अर्थमन्त्रीको पालामा यसरी बजेटमा स्रोत सुनिश्चितता गर्ने काम भयो भन्दै प्रश्न गरे ।

विकास आयोजनामा बजेट नभएको बेलामा सरकारले त्यसरी स्रोत सुनिश्चितताको पत्र केही मन्त्रालयलाई दिने काम गरेर आर्थिक अनुशासनको उल्लंघन गरेको पन्तको भनाइ छ । केही मन्त्रालयलाई सरकारले स्रोत सुनिश्चतताको पत्र दिएपछि विकास आयोजनाको काम अघि बढ्न नसक्ने अवस्था आउने भएकाले त्यस्ता कुरालाई सरकारले नियन्त्रण गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘कुन, कुन अर्थमन्त्रीको पालामा गयो त्यसरी ? बजेट छैन, रकम छैन, तर पनि स्रोत सुनिश्चितता दिनुभयो । त्यो स्रोत सुनिश्चितता हुनासाथ के गर्छ ? टेण्डर गर्न पाउँछ । अनि ठेकदारले पैसा पाउँदैन । अनि काम हुन्छ ? त्यसैले मैले भनेको यो ६ खर्बमा त धेरै त योभन्दा अगाडिको अर्थमन्त्रीज्युहरूको होला,’ उनले भने, ‘यसले के देखाउँछ भने आर्थिक अनुशासनहीनता रह्यो है भन्ने देखाउँछ । त्यसैले यो आर्थिक अनुशासनहिनतालाई यस पल्ट कन्ट्रोल गर्नुपर्छ ।’