काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ मागेकी छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाइन् ।
‘जनताले हाफपाइन्ट लगाएर प्रवेश नपाउने सिंहदरबारको ढोकामा । चप्पल लगाएर हेर्न नपाउने संसद भवनमा । अत्यन्तै अप्ठ्यारो विषय हो । त्यस कारणले सभामुखमार्फत् म प्रश्न पनि राख्न चाहन्छु सरकारलाई–कारण के हो ? हाफपाइन्ट लगाएर भित्र जान नपाउने । हामीचाहिँ सबै ड्रेस लगाएर यहाँ आइरहेका छौँ ।’
सांसदहरूले जुनसुकै प्रकारको पोशाक लगाएर पनि आउन सक्ने तर सर्वसाधारणको पोशाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्न नहुने उनको भनाई छ ।
‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना छौँ ? हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि ? आफ्नो मातृड्रेस लगाएर आउँछौं कि ? आज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनुभएको छ । हामीलाई चाहिँ सबै छुट ? अनि जनतालाई चाहिँ त्यसमा बन्देज ? नियम बनाउने हामी माननीयले चाहिँ जस्तो लगाएर यहाँ आए पनि भयो, नौरंगी फेसन लगाएर आए पनि हुन्छ, हामीले चाहिँ केही गर्नु नपर्ने ?’ सांसद र मन्त्रीहरूले कस्तो पोशाक लगाएर आउनुपर्ने हो भन्ने रुलिङ हुनुपर्ने उनले बताइन् ।