काठमाडौँ । प्राध्यापक डा.सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले ज्ञानेन्द्रमाथि ठुलो आशङ्का गरेको बताएका छन् । ज्ञानेन्द्रमाथि जनताले आशङ्का गरे पनि घटनाबाट बचेका गोरख शमशेरले पनि यसमा दीपेन्द्रकै हात रहेको बताएको उनले सुनाए ।
शनिबार आयोजित अन्तरक्रियामा उनले सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरूले उक्त घटना युवराज दीपेन्द्रले नै गराएको दाबी गरिरहेको बताए । आफूलाई भने सबै घटना दीपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए ।
उनले वीरेन्द्रलाई हान्नेसम्म चाहिँ दीपेन्द्रले गरेको र त्यसपछि अरू कोही संलग्न भएको आशङ्का व्यक्त गरे । दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दीपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरू दिएको केसीले स्मरण गराए ।
दीपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा.केसीको दाबी छ । दीपेन्द्रले गोली चलाएर वीरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरूले टेकओभर गरेको उनको उनको अनुमान छ । संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए ।
वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले-हुर्काएकाहरूबाट नै राजासंस्थामा खतरा आएको बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको नाम लिए ।
अहिले राजतन्त्रको पक्षमा माहौल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेकोसमेत दाबी गरे ।