• मंसिर १३ २०८१, बिहीबार

काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने

जेष्ठ १८ २०८१, शुक्रबार

काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सबै सार्वजनिक शौचालयहरू निःशुल्क प्रयोग गर्न पाइने भएको छ । शुक्रबार सूचना जारी गर्दै महानगरले निर्माण भएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा सेवाग्राहीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको बताएको छ ।

निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने छ, सूचनामा भनिएको छ । सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न समेत अनुरोध गरेको छ ।

यस्तै, तोकिएको समयपछि महानगरभित्रका सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्नेछ । यदि सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क लिएमा कारबाही गरिने महानगरले बताएको छ ।

साथै, कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमा समेत निःशुल्क शौचालय सेवा उपलब्ध गराउन अनुरोध गरेको छ ।