काठमाडौं । सरकारले जेष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष ०८१-०८२ को राष्ट्रिय बजेटका बारेमा विभिन्न धारणाहरु आइरहेका छन् । यसैक्रममा काठमाडौंमा पनि बजेटको बारेमा विश्लेषण गर्ने काम भएको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले यसपालीको बजेटका बारेमा आआफ्ना धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा डा.नवराज खतिवडा, डा. तारानिधि भट्टराई, डा.मनोज राजभण्डारी, डा.जयकुमार गुरुङ, सलिशा रैला, डा.रुद्र सुवाल, डा.दिपेन्द्र रोकाया लगायतका वक्ताहरुले यसपालीको बजेटका बारेमा धारणा राखेका थिए । सरकारले यसपाली १८ खर्ब ६० अर्ब ३० करोडको बजेट छुट्याएको छ ।
सरकारले आगामी वर्षका लागि ६.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । तर विगतको तथ्यांक हेर्दा विरलै मात्र अपेक्षित आर्थिक वृद्धि हासिल गर्न सफल भएको देखिन्छ । पछिल्लो दशकको औसत वृद्धि लगभग ४ प्रतिशत मात्र भएकोले आजका वक्ताहरुले व्याजदर, मुद्रास्फिति र वृद्धिदर हेर्दा ६ प्रतिशतको वृद्धिदर हासिल गर्न निकै मेहनत गर्नुपर्ने धारणा राखेका छन् ।
आजको कार्यक्रमको सञ्चालन डा.दिपेन्द्र रोकायाले गरेका थिए भने सहभागीहरुलाई स्वागत मन्तव्यद्धारा डा.शंकर श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता डा.कृष्ण पहारीले गरेका थिए ।