• मंसिर १३ २०८१, बिहीबार

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरेको मुद्दा आज पनि पोखरेलको इजलासमा पेशी

जेष्ठ १७ २०८१, बिहीबार

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ । बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो । उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । तर बिहीबार पनि पोखरेलकै एकल इजलासमा पेशी तोकिएको हो ।

उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको छ । सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो ।

सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता गरेका थिए । रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै विभिन्न जिल्लामा ठगीको अभियोगपत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कर्यालयको दुरुपयोग गरेर क्लिनचिटको पत्र लेखाइएकाले गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर रिटमा गरिएको छ । रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

एउटै इजलासमा पेशी परेपछि हटाउने वा बहस गर्ने विषयमा आफूहरू छलफल गरिरहेको अधिवक्ता भट्टराईले बताए । पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो ।