लन्डन । गौतम बुद्ध २६४८औं जन्मजयन्ती यही मे २५ तारिखका दिन शनिबार मंगल बुद्धबिहार बेलायतको आयोजनामा ह्यारो बरो फुडबल क्लबमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
लन्डन माइन्डफुल्नेस मेडिटेसन सेन्टरका प्रमुख सुमना भन्तेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम बिहारका अध्यक्ष इन्द्रबहादुर पुन, बिहारका सल्लाहकार कृष्ण दर्लामी, थर्क राना र मगर महिला संघ युकेकी अध्यक्ष विष्णु श्रीसले संयुक्तरुपमा पानसमा बत्ती बालेर शुरु भएको थियो ।
त्यसपछि बुद्धपुजा सम्पन्न भएको थियो भने कार्यक्रममा उपस्थित सुमना भन्ते र इन्द्रसक भन्तेबाट पञ्चशील ग्रहण गरिएको थियो । मंगल बिहारका उपाध्यक्ष टिका दर्लामीले बुद्ध जयन्ती र बुद्ध पात्रोको बारेमा जानकारी गराएका थिए । सो अवसरमा चार आर्य सत्य र आर्य अष्टांगिक मार्गका बारेमा बिहारका सल्लाहकार कृष्ण दर्लामीले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथ सुमना भन्तेले हाम्रो मानसिक अवस्थाले नै सुख र दुःख निम्त्याउने भएको हुँदा सधै हामीले आफ्नो मनलाई सफा राख्नु पर्ने बताउनु भएको थियो, मन सफा भए मात्र राम्रो काम गर्न सकिने भएको हुँदा शील, समाधि र प्रज्ञाको नियमित अभ्यास गर्न आवश्यक हुन्छ भन्नु भएको थियो ।
सो अवसरमा यही अगष्ट १४ देखि २५ तारेखसम्म हुन गहिरहेको निशुल्क दश दिवशीय भगवान बुद्धले सिकाउनु भएको विपस्यसना ध्यान भावनाका बारेमा बिहारका अध्यक्षले जानकारी गराउनु भएको थियो । उक्त निशुल्क दश दिवशीय विपस्यना ध्यान भावना बेलायत स्थित हेरफोर्डशायरमा अवस्थित धम्म दिपा ध्यान केन्द्रमा हुनेछ भने सो विपस्यना ध्यान नेपाली र हिन्दी भाषामा गराइनेछ ।
धम्म दिपा ध्यान केन्द्रको वेबसाइड Dhamma.org मा अनलाइन आवेदन फारम खुल्ला भैसकेको र अगष्टमा हुने उक्त विपस्यना ध्यानको लागि ६४ जना महिला र ६४ जना पुरुषको लागि सिट क्षमता रहेको पनि जानकारी गराईेको थियो ।
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित बौद्ध परियती शिक्षाको मगल बुद्धबिहार युके परिक्षा केन्द्रबाट परिक्षामा सामेल भै कक्षा १ देखि कक्षा ५ सम्मका परिक्षा उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई सो अवसरमा प्रमाणपत्र र पाठ्यपुस्तक वितरण गरिएको थियो । बौद्ध परियती शिक्षाको आगामी कक्षा सञ्चालन र परिक्षाका बारेमा पनि बिहारका अध्यक्षले जानकारी गराएका थिए ।
उक्त बौद्ध परियती शिक्षा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट समेत मान्यता प्राप्त शिक्षा हो । उक्त बौद्ध परियती शिक्षा बिहारले अनलाइनबाट निःशुल्क अध्यापन गराउँदै आएको पनि जानकारी गराइएको थियो ।
मंगल बुद्धबिहारका अध्यक्ष इन्द्रबहादुर पुनको सभापतित्वमा भएको बुद्ध जयन्ती कार्यक्रमको सञ्चालन बिहारका सचिव जगतबहादुर आलेले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य टिका दर्लामीले गर्नु भएको थियो । कार्यक्रम बौद्ध परम्परा अनुसार पुन्यानुमोदन गरेर समापन गरिएको थियो ।