काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । उनले लिएको विश्वासको मतको प्रक्रियालाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ ।
कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डेले गत २५ वैशाखमा दर्ता गरेको रिटमा सोमबार अन्तिम फैसला गर्दै न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजालसले विश्वासको मत लिएको प्रक्रियालाई अवैधानिक ठहर गरेको हो ।
संक्षिप्त आदेश भने आइसकेको छैन । एमाले दल नेता अधिकारीले गत २३ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । त्यसबेला उनले पक्षमा जम्मा ३० मत पाएका थिए । सभामुख कृष्ण धितालले आफ्नो पनि समर्थन रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरिदिएका थिए ।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन कम्तीमा ३१ सांसद हुनुपर्नेमा ३० सांसदको विश्वासको मत पाउँदा बहुमत घोषणा गरिएकोमा कांग्रेस असहमत थियो ।
पाण्डेले अधिकारीले विश्वासको मत नपाएकाले उनको सरकार स्वतः ढलेकाले ठूलो दलको संसदीय दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिन पनि माग गरेका थिए ।