• आश्विन १९ २०८१, शनिबार

पत्रकार कृष्ण सेन ‘इच्छुक’का हत्यारालाई पुरस्कृत गर्नु गणतन्त्रमाथिकै गद्दारी हो : सहभागीहरु

जेष्ठ १३ २०८१, आईतवार

काठमाडौं । पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को हत्या भएको २३औं वर्ष पुगेको अवसरमा काठमाडौंमा ‘प्रभातफेरी’ कार्यक्रम गरिएको छ । शान्तिवाटीकाबाट सुरु भएको ‘प्रभातफेरी’ र्याली भृकुटीमण्डप अगाडी सेनलाई हत्या गरिएको महेन्द्र प्रहरी क्लब नजिक पुगेर कोणसभामा परणित भएको थियो ।

सभामा मन्तव्य राख्दै शाही शासनको समयमा हिरासतमै हत्या गरिएका पत्रकार कृष्ण सेनका सहपाठी पत्रकार तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हिरामणि दुःखीले पत्रकार कृष्ण सेनका हत्यारालाई कारवाही गर्न सरकारसित माग राखे ।

उनले माओवादी नेतृत्वकै सरकारका पालामा सेनका हत्यारालाई पुरस्कृत गर्नु दुःखद भएको भन्दै आज उल्टै गणतन्त्र ल्याउने माओवादीलाई हत्याराको आरोप लगाउनु आपत्तिजनक भएको बताए ।

दुःखीले सेनका आदर्शलाई आजको पुस्ताले पनि निरन्तर पच्छ्याउँदै जानु पर्ने भन्दै साना स्वरोजगार सञ्चारमाध्यमलाई सरकारले घाँटी निमोठिरहेकोले यसका विरुद्ध कलम चलाउन आग्रह गरे । दुःखीले विदेशी लगानीका मिडियालाई खारेज गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अर्का वक्ता जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले पत्रकार सेनको हत्या गरेर तत्कालिन राज्यले अपराध गरेको बताए ।

उनले जेनेभा महासन्धिको उल्लंघन गर्दै सेनको हत्या गरिएको भन्दै आज पनि पत्रकारहरु सुरक्षित नभएको भन्दै सबै मिडियाकर्मीहरु एक ठाउँमा आउनु पर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नारायण पंगेनीले वाक स्वतन्त्रताको वकालत गर्दा सेनहरु मारिएको भन्दै सेनका हत्यारालाई कारवाहीको माग गरे ।

प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले दिवंगत पत्रकार कृष्ण सेन प्रेरणाका स्रोत रहेको भन्दै उनले देखेका समानताका सपनाहरुमा आफूहरुको पनि ऐक्यवद्धता रहेको बताए ।

अर्का वक्ता श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले सेनका हत्यारालाई कारवाही भए मात्र सेनप्रतिको सच्चा सम्मान र सही लोकतन्त्र हुने बताए ।

कार्यक्रममा कवि गौरी देवकोटा, मित्रलाल पंगेनी र कुशल बोगटीले सेनप्रति समर्पित कविता वाचन गरेका थिए ।

कार्यक्रममा जनपक्षीय पत्रकार एक होऔं, श्रमजीवी ऐन लागू गर, मिडियामा अपारदर्शी लगानी बन्द गर, पत्रकार कृष्ण सेनका हत्यारालाई कारवाही गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुनहरु खारेज गर, बेपत्ता पत्रकारहरुको स्थिति सार्वजनिक गर जस्ता नाराहरु लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको सुरुमा पत्रकार सेन लगायतका हत्या गरिएका पत्रकार तथा संस्कृतिकर्मीहरुको सम्झानामा मौणधारण गरियो ।

पत्रकार सेनलाई शाही शासनकालमा काठमाडौंको चाबहीलबाट गिरफ्तार गरी महेन्द्र प्रहरी क्लबमा चरम यातना दिएर हत्या गरिएको थियो । जेष्ठ ६ गते पक्राउ गरिएका सेनको १३ गते हत्या गरी तत्कालिन शाही सरकारले नै उनको पशुपतिमा दाहसंस्कार गरेको थियो ।
‘जनआस्था’ पत्रिकामा ‘कृष्ण सेन पशुपितमा खरानी’ शिर्षकमा समाचार छापिएपछि उनकाे हत्या भएकाे पुष्टि भएकाे हाे । सोही कारणले उनको हत्या भएको महेन्द्र प्रहरी क्लबकै अगाडी कोणसभा गरिएको हो ।

सेन जनदिशा दैनिक र जनादेश साप्ताहिकका सम्पादक थिए । यी पत्रिकाले माओवादी जनयुद्धमा भएका घटनाहरुलाई प्राथमिकताकासाथ समाचार छापेको आरोपमा तत्कालिन राज्यले प्रतिबन्ध लगाएको थियो । सोही समयमा कृष्ण सेन लगायत दर्जनौं श्रमजीवी पत्रकाहरु पक्राउ पर्ने र हत्या गरिने क्रम चलेको थियो ।