• मंसिर १३ २०८१, बिहीबार

इजरेलले अन्तराष्ट्रिय अदालतको आदेश टेरेन, रफाहमा हान्यो बम

जेष्ठ १२ २०८१, शनिबार

काठमाडौं । संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले रफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ । आईसीजेको आदेशको केही घण्टापछि इजरायलले शनिबार बिहान गाजापट्टीमा आक्रमण गरेको हो ।

आईसीजेले इजरायललाई रफाहमा सम्पूर्ण वा आंशिक रूपमा भौतिक बिनाश ल्याउन सक्ने आफ्नो सैन्य आक्रमण तुरुन्तै रोक्न आदेश दिएको थियो । गाजामा हमासले बन्धक बनाएकाको ‘तत्काल र बिनासर्त रिहाइ’का निम्ति पनि आह्वान गरेको थियो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको प्यालेस्टाइनी लडाकु समूह हमासले रफाहमा आक्रमण रोक्ने आईसीजेको फैसलाको स्वागत गरेको छ । तर, युद्धग्रस्त गाजाका बाँकी भागलाई बेवास्ता गरिएको भन्दै निणर्यको आलोचना गरेको छ ।
पेरिसमा गाजा द्वन्द्वको विषयमा एकातिर सीआईए प्रमुख र इजरायली प्रतिनिधि र अर्कोतिर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र चार प्रमुख अरब राज्यका विदेशमन्त्रीबीच आयोजित बैठकअघि अदालतको यो आदेश आएको हो ।

‘हामीलाई आशा छ कि अदालतको निणर्यले इजरायललाई यो विनाशको युद्ध अन्त्य गर्न दबाब दिनेछ, किनकि यहाँ केही बाँकी छैन,’ गाजा युद्धका कारण देइर अल-बलाहमा विस्थापित प्यालेस्टाइनी महिला ओम मोहम्मद अल-अस्काले भनिन् ।
‘इजरायल आफूलाई कानुनभन्दा माथि ठान्छ । तसर्थ, गोलीबारी वा बल प्रयोगबाहेक अरूले इजरायलाई रोक्न सक्छ भन्ने मलाई विश्वास छैन,’ मध्य गाजापट्टी सहरमा एएफपीले भेटेका मोहम्मद सालेहले भने ।