• मंसिर १३ २०८१, बिहीबार

६ वटा सहकारीमाथि संसदीय छानबिन गर्ने कार्यविधि तयका लागि प्रयास

जेष्ठ १२ २०८१, शनिबार

काठमाडौँ । संसदीय छानबिन समितिमार्फत् विभिन्न ६ वटा सहकारीमाथि संसदीय छानबिन गर्ने कार्यविधि तयका लागि प्रयास थालिएको छ । ६ वटा सहकारीको नाम किटान गरी तिनको रकम अपचलनमा संलग्नहरूमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने तयारीमा सत्ता पक्षीय दलहरू लागेका हुन् ।

संसदीय छानबिन समितिको कार्यविधि बनाउन अहिले केही बेरमा बस्ने कार्यदल बैठकमा यस्तो प्रस्ताव राख्ने सहमति सत्ताधारी दलहरूबिच बनेको एक नेताले सञ्चारमाध्यमलाई बताए ।

वीरगन्जको सानो पाइला, भैरहवाको सुप्रीम, काठमाडौँको स्वणर्लक्ष्मी, नेपालगन्जको समानता, चितवनको सहारा, सहकारीसहित सङ्कटग्रस्त ३३ सहकारीको रकम अपचलन गर्ने व्यक्तिहरूमाथि छानबिन गर्ने गरी समिति प्रस्ताव गर्न लागिएको हो ।

सत्तापक्षले रवि लामिछानेको नाम नराखी रकम अपचलनमा संलग्नहरू माथि छानबिन भन्ने प्रस्ताव राख्न लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नमानेपछि श्रममन्त्री डीपी अर्याल सञ्चालक रहेको हाम्रो कृषि सहकारीको भने नामै किटान गर्न नसकिएको सत्ता पक्षको प्रस्ताव लेखनमा संलग्न एक नेताले बताए ।

छानबिन समितिको कार्यविधि बनाउन केही बेरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदलको बैठकमा यसबारे छलफल हुनेछ ।