गोरखा । नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी वैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् ।
सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र विस्तार, प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको माग लगायतका विषयमा छलफल हुनेछ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषयलाई पनि छलफल गरिने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।
सम्मेलनको उद्घाटनपूर्व झाकी र्याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट सुरु भएको र्याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुँदै कार्यक्रम स्थल (गोरखा संग्रहालय परिसर) पुगेको हो । साँझ सांस्कृतिक कार्यक्रमहरु हुने बताइएको छ ।