• आश्विन १३ २०८१, आईतवार

नृत्य गर्नुका फाइदै फाइदा

जेष्ठ १२ २०८१, शनिबार

मनोरञ्जनका रुपमा हेरिने नृत्यलाई संगीतको तालमा गरिने शारीरिक क्रियाकलापको रुपमा मानिन्छ । नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धको स्वास्थ्यलाई सकारात्मक असर गर्ने गुणहरु रहने योग चिकित्सकहरुले जनाएका छन् ।

नृत्यलाई जीवनकै एक भागको रुपमा राख्दा धेरै किसिमको फाइदा आफैंलाई हुने गर्छ । नृत्यका केहि फाइदा यस्ता छन् ।

नृत्य गर्दा शारीरिक, मानसिक र भावनात्मक कसरत हुन्छ जसले शरीर, मन र भावनाको तालमेललाई जागरुक बनाइराख्छ।
नृत्यले व्यक्तीमा प्रफुल्लता बढाउँछ। प्रसन्न राख्ने हर्मोनहरु (जस्तैः इन्डोर्फिन, सेरेटोनिन) को मात्रा बढाउँछ।

नृत्यले एक प्रकारको शक्ति प्रदान गर्छ। महिलाहरू नाच्न खुबै रुचाउँछन् र उनीहरूलाई नृत्य गरेको निकै सुहाउँछ पनि। रत्यौली होस्, झुला होस् वा तीज महिलाहरू आफ्नो कम्मर मर्काउन पछि पर्दैनन्। नृत्यले शारीरिक दुखाइ कम गर्छ । हिनताबोधको अन्त्य गर्न मद्दत गर्दै जीवनको गुणस्तरता बढाउँछ। चिकित्सकका अनुसार नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धलाई निम्न प्रकारका फाइदा हुने पुष्टि गरेको छन् ।

बच्चाहरुको नृत्य गर्ने बानीले बच्चाहरुलाई मोबाइल गेम, ल्यापटप गेम आदिको लतबाट छुट्कारा दिन्छ। हड्डिहरुलाई बलियो बनाउँछ। शारीरिक व्यायामको क्षमता बढाउँछ।

बच्चाहरुको व्यक्तित्व विकास गर्छ। बच्चामा सहयोगी भावना र मिलेर काम गर्ने बानीको विकास हुन्छ। जसले गर्दा सामाजिक स्वास्थ्यको विकास हुन्छ। पारिवारिक अन्तक्र्रिया बढाउँछ। बच्चाहरुको मानसिकता बुझ्न सहयोगी हुन्छ।आफूलाई चिन्ने, बुझ्ने र मनको संयम गर्न सक्ने क्षमता विकास गर्छ।

नृत्य गर्दा एक प्रकारको हार्मोन उत्पन्न हुन्छ जसले मानिसमा उत्पन्न हुने तनाव कम गर्छ। नृत्यका शारीरिक एवं मानसिक दुवै फाइदा छन्। नृत्य गर्दा महिलाहरूले केही समय भए पनि तनाव बिर्सन्छन्। नृत्य गर्दा उनीहरू केवल आफ्नो नृत्यको स्टेप मात्र सम्झन्छन्। दिनहुँ नृत्य गर्दा महिलाहरूको व्यक्तित्वमा पनि निखार आउने साल्सा डान्स एकेडेमीका विवेकराज श्रेष्ठ बताउँछन्।

नृत्य गर्दा हलुका खाना खाएर नृत्य गर्नुपर्छ। अघाएको वा भोकाएको बेला नृत्य गर्नुहुँदैन । सुविधाजनक पहिरन छनोट गर्नुपर्छ। गहना, जुत्ता तथा ब्याग आदि असुविधाजनक हुनुहुँदैन।