• मंसिर १३ २०८१, बिहीबार

अधिकतम लचकता अपनाउने बालुवाटार बैठकको निष्कर्ष

जेष्ठ ११ २०८१, शुक्रबार

काठमाडौं । एमाले प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेससँग सकारात्मक छलफल भएको बताएका छन् । बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय छानबिन समितिको टिओआरमा दुवै तर्फबाट अधिकतम लचकता अपनाउने निष्कर्ष निकालिएको बताए ।

उनले व्यक्ति केन्द्रित छानबिन समिति बनाउन सत्तापक्ष कहिल्यै तयार नभएको स्पष्ट पार्दै त्यसमा प्रतिपक्षले लचकता देखाएको बताए ।

‘व्यक्ति केन्द्रित छानबिन समिति बन्दैन भनेर हामीले पहिल्यैदेखि भन्दै आएका छौं । संसदीय छानबिन समितिको मर्म र गरिमालाई कायम राख्नेगरी कार्यादेश बनाउने हाम्रो प्रस्ताव हो । हाउसलाई सहज सञ्चालनका लागि उहाँहरूले पनि भूमिका खेल्छु भनेका छन्,’ उनले भने ।

प्रमुख सचेतक बर्तौलाले सम्पूर्ण बल कांग्रेसको कोर्टमा दिएको बताए । कांग्रेस जसरी प्रस्तुत हुन्छ, सत्तापक्ष त्यसरी नै प्रस्तुत हुने उनको भनाइ छ ।

‘सरकारले अधिकतम लचकता अपनाएकै छ । संसदीय छानबिन समिति बनाउने कुरामा सहमति गरेकै छ । हाउसलाई सहज स्थितिमा लैजान छोडेर कांग्रेसले केन्द्रीय कमिटीबाट आन्दोलन घोषणा गर्नु राम्रो भएन । त्यसका बाबजुद हामीले कांग्रेसको कोर्टमा बल राखेका छौं । उहाँहरू जे चाहनु हुन्छ, त्यही हुन्छ,’ उनले भने । कार्यदलको बैठक भोलि ३ बजे बस्ने उनले बताए ।