काठमाडौं । कामीरिता शेर्पाले ३०औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४ मिनेटमा चुचुरोमा पुगेका हुन् ।
“कामीरिता शेर्पाले सगरमाथा शिखमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,” सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।
फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार बुधबारसम्म आरोही र शेर्पा सहयोगी गरी ४६ भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् ।
सन् १४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् ।
अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरू भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र ३३ पुरुषसहित ४१४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।