प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सुनको पिँजडाभित्र कैद छन् । उनी सत्तामा छन् । तर राज्यसत्तामा छैनन् । उनको वरिपरि सबै छ, तर वास्तवमा केही पनि छैन । संसदमा उनले विश्वासको मत प्राप्त गर्छन्, तर वास्तविक विश्वास उनले पाउन सकिरहेका छैनन् । ‘वल्लो घाट’मा आइपुग्दा ‘पल्लो तिर’को आशा गर्छन् । ‘पल्लो तिर’मा पुग्दा, ‘वल्लो घाट’को गुण नबिर्सन चित्कार गर्छन् ।
पहिले परिस्थितिलाई डोर्याउँदै आएका प्रचण्ड अहिले उल्टै परिस्थितिले डोर्यारहेको अवस्थामा छन् । परिस्थितिले घिसारिरहेको अवस्थामा छन् । यो उनको आजको धरातलीय यथार्थता हो । अहिले उनका लागि ‘जहाँ लान्छ कर्मले, उही हो मेरो घर’ भन्ने अवस्था छ । आजको उनको कर्म भनेको ‘प्रयास’ हो, फगत संसदीय राजनीतिक प्रयास ! जो संसद केन्द्रित हुन्छ ।
वास्तविक शक्ति भनेको आफ्नो पार्टी हो । उनको पार्टी निकै कमजोर अवस्थामा छ । पार्टीभित्र एकता कमजोर छ । भित्रै लड्नुपर्ने र बाहिरै लड्नुपर्ने विडम्बना उनको वर्तमानमा आमने सामने मडारिरइरहेको छ । शक्तिकेन्द्रहरूले तारो बनाइरहेका छन् । सरकारमा रहेका आफ्नैले अप्ठ्यारो बनारहेका छन् ।
नयाँ आर्थिक वर्षसँगै ‘ब्रेक थ्रु’ गरेर भए पनि नयाँ बजेट ल्याउने तरखरमा उनी थिए । भनेका पनि थिए, ‘बजेट निर्माण तयारीको कमाण्ड सम्हालिरहेको छ ।’ तर राष्ट्रपति मार्फत् सरकारको नीति तथा कार्यक्रम पारित गर्दा उनले सम्झौता गरे, बाध्यता पनि त छ, प्रतिपक्षको मनसाय अनुरूपको सरकारी नीति सार्वजनिक गरे । एउटा गर्जो टर्यो । तर बजेट यो नीति अनुरूपको निर्माण हुने छ । उनको ‘कमाण्ड’ र ‘ब्रेक थ्रु’को बजेट निर्माणमा कुनै साइनो रहने छैन ।
यही भएर होला न त एमालेले सरकार निर्माण गर्न आफू अग्रसर भएको र तयार रहेको घोषणा गर्छ, न त नेपाली काँग्रेसले नै ! वास्तवमा सरकारको नेतृत्व गर्न कुनै पनि दुई ठूला दल तयार छैनन् । यही मौकाको फाइदा मात्र उठाएका हुन् वर्तमान प्रधानमन्त्रीले । उनलाई ‘चतुर’, ‘खेलाडी’ र ‘कुशल’ भन्नु अतिशयोक्ति गरेर उडाउने काम मात्र हो । जो कोही यो गरिरहेका पनि छन् ।
जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि आँट गर्न नछाड्ने र नेतृत्वका लागि निरन्तर प्रयास गरिरहने क्षमता भने बेजोड नै हो । त्यसै कारण संसदबाट झण्डै शतप्रतिशत मत विश्वास लिँदादेखि अहिले प्रतिपक्षको कठोर विरोध र वेल घेराउ हुँदाका बखत संसद् सुरक्षामा खटिएका मार्सल र समर्थकबाट घेरिएर रोस्ट्रमसम्म पुग्ने अवस्थाको अनुभूत गरिरहेका छन् उनी !
उनका लागि नेपाली काँग्रेससँगको सहकार्यमा ‘सकार’ र ‘नकार’ दुबै छन् । शान्ति प्रक्रिया स्वीकार गरी यो परिवेशमा भित्र्याउने काम उसैले गरेको हो । तर नेपाली काँग्रेसले उनलाई ‘दुस्मन’ को व्यवहार गर्ने विरासत त्यागिसकेको छैन । यसअघि सरकारमा साथै रहँदा प्रम प्रचण्डलाई ‘हियाउने’ र अस्वीकार गर्ने काम नेपाली काँग्रेसले गरेकै हो । काँगेस महासमिति बैठक यसको ज्वलन्त उदाहरण हो ।
यसै बेला अन्तर्राष्ट्रिय परिस्थितिमा पनि केही बदलाब आयो । अमेरिकामा राष्ट्रपतीय चुनावी दौड सुरू भयो । चीनको कार्यनीतिक ‘न्यानोपन’ अमेरिकी डेमोक्र्याट पार्टीले चाह्यो । अमेरिकी राष्ट्रपति बाइडन र चिनियाँ राष्ट्रपति सी जिन फिङका बीचमा दुरी नजिकियो । यसको अन्तर्राष्ट्रिय प्रभाव र परिणामस्वरूप नेपालमा तदनुकूलको सत्ता हेरफेर हुने छाँट देखियो । नेपाली काँग्रेसको महासमिति बैठकले ‘दोष’ पायो । नयाँ सत्तागठबन्धन र सरकार बन्यो ।
नयाँ गठबनधन र सरकारमा पनि ‘तीन तिकड, महाविकड’ छ । एमालेसँग वाम सहकार्यको ‘कभर’ त छ । तर ‘गाडा चढेर थालिएको अमेरिका भ्रमण’ कम महङ्गो छैन । त्यसैले पनि होला, प्रधानमन्त्रीले पछिल्लो पटक विश्वासको मत लिँदा सादापोसाकका सुरक्षाकर्मीका साथ रोष्ट्रममा पुग्दा नेपाली काँग्रेसलाई आफ्नो गुण सम्झन प्राथमिकताका साथ रोषपूर्ण आग्रहसहित स्मरण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काम गर्न सके बसन्छि, नसके सरकार छाडिन्छ भनेर सडकमा पनि भनिरहेको छ । त्यही कुरा सदनमा पनि बारम्बार दोहर्याउने गरिरहेको छ । अहिले कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीले यो असहजता छताछुल्ल पारिदिएको छ । प्रधानमन्त्रीले ‘सिरोहियालाई तत्काल पक्राउ नगर्नू’ भन्नु र गृहमन्त्रीले ‘विना ढिलाइ पक्राउ गरी हिरासतमा लिनू’ भन्ने विरोधाभाषपूर्ण सरकारी रबैयाले उजागर गरिसकेको छ ।
बाहिरी शक्ति केन्द्र संघर्षका हिसाबले भारत अमेरिकासँग सन्तुष्ट छैन । अमेरिकी राष्ट्रपति निर्वाचन र प्यालेस्टिनी भूमिमाथि इजारायली आक्रमणमा सहज वातावरण निर्माण भइराखोस् भन्ने उद्देश्यले अमेरिकाले चीनसँग तत्काल अघि बढाएको ‘कराररूपी समझदारी’ भारतका लागि घाँडो साबित भएको छ । अमेरिकी–चीन ‘करार’ भत्काउन चाहन्छ भारत, जोगाइराख्न चाहन्छ अमेरिका तर यसैले अमेरिका–भारतबीच ‘टसल’ ल्याएको हेर्न चाहन्छ चीन ! अन्तर्राष्ट्रिय शक्ति केन्द्रको यो त्रिकोणीय टक्करले पनि नेपालको सत्ता समीकरण निर्माण र विघटनमा बाह्य तर दबाबपूर्ण आधार तयार पारिरहन्छ ।
यहाँ असंभ कुरा हुन जहिले पनि संभव छ । यहाँ सत्ता जोडघटाउका अनियमित काम नियमित रूपमा भइ नै रहन्छन् । यो नेपालीका लागि साच्चिकै ‘चमत्कार’ हुन्छ । धार्मिक पृष्ठभूमिमा निर्माण भएको नेपाली मानसिकतामा यस्ता दैवीय चमत्कार पाच्य र स्वीकार्य दुवै छन् । त्रिकोणीय अन्तर्राष्ट्रिय शक्ति संघर्ष र टक्कर सापेक्ष त्रिपक्षीय ‘करार’मा परिणत हुन गएमा नेपालमा ‘आवश्यकताको राष्ट्रिय सरकार’ वा ‘संयुक्त सरकार’ निर्माण हुनगई ‘अर्लि इलेक्सन’ को अवस्था सिर्जना हुन पनि अबेर लाग्ने देखिदैन ।