काठमाडौं । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूणर् सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । नागरिकता किर्ते कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति पाएको छ ।
त्यसपछि विज्ञप्ति जारी गर्दै सिरोहियाले एक जिम्मेवार नागरिकका रूपमा अनुसन्धानमा सम्पूणर् सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका हुन् । तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू र कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उनको भनाइ छ ।
‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो तर, कान्तिपुर हरेक घडीमा निर्भिक रूपमा उभिँदै आएको छ । म अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,’ अध्यक्ष सिरोहियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । बैठकमा कांग्रेसले आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई पक्राउ पुर्जी जारी गरिन्छ भने कांग्रेसले नसहने चेतावनी दिएको छ ।