उदालगुडी । असम खस महासभा, भारतको आयोजनामा गत बैशाखको २२ गते धेमाजी जिल्ला, सिलापथर डिमौ नदीको बगरमा दुई दिने संसारी पूजा सम्पन्न भएको छ । महासभाका अध्यक्ष माधव दाहालले खस समाजको खुँडा, खुकुरी र ढाल अंकित नेजा (झण्डा) फराएर पूजाको शुभराम्भ गर्नु भयो ।
महासभाका मुलसचिव तुलसी भट्टराईका अनुसार मष्टका धामीहरुबाट मष्ट देउता, भुवानी लगायत पितरोहरुको पूजा तथा प्राथना गरेर संसारी पूजा गरिएको थियो । उक्त पूजामा उदालगढी, तिनसुकिया, शोडिपुर, विश्वनाथ, धेमाजी, बडाइगाउँ, कामरुप, शिवसागर लगायतका जिल्लाहरुबाट मष्टोधर्मी खसहरुको उपस्थिति रहेको थियो ।
महासभाका पूर्वअध्यक्ष डा.हर्कबहादुर छेत्री, पूर्वमुलसचिव दिपक निरौला, महासभाका उपसभापति कमल दाहाल लगायतको आतिथ्यतामा पूजा भएको थियो । नौमती बाजागाजाका साथ भएको उक्त पूजामा खस संस्कृति झल्कने गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
मष्टको जाँत, मष्टको पैठ, भुवो, देवाली पूजा, भुमे पूजा, चेलतिहार, उधौली, उभौली जस्तै संसारी पूजा पनि खसहरुको एक महात्वपूणर् पर्व हो । भारतको असम राज्यमा बस्ने खसहरुले यसअघि अलग अलग रुपमा संसारी पुजा मनाउँदै आएका भएता पनि यो वर्ष भने उनीहरुले सामूहिकरुपमा एकै ठाउँमा भेला भएर पूजा गरेका छन् ।
संसारी पुजा लोकको शुख, शान्ति तथा सहकालको प्राथना गर्नका लागि गर्ने परम्परा रहेको छ । धेमाजी जिल्लाको सकृयतामा सम्पन्न उक्त संसारी पुजामा आएका पालीहरुलाई पूजा पश्चात मष्टका धामीले आलम, प्रसाद र बाहुली प्रदान गरेका थिए ।
खस संस्कार, संस्कृति नमासियोस् र आगामी दरपिढीलाई आफ्नो संस्कृति हस्तान्तरण गर्न सकियोस् भन्ने ध्येयले यस किसिमको कार्य गरिएको महासभाले जनाएको छ ।