• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेसले संसदमा मुठभेड निम्त्याउन खोज्यो : महेश बर्तौला

जेष्ठ ५ २०८१, शनिबार

काठमाडौं । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् ।
कांग्रेसका उपसभापति धनराज गुरुङले ३ जेठको संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुव्र्यवहारको प्रयास गरेको उनको आरोप छ ।

सो दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अवरोधका लागि वेलमा नाराबाजी गरिरहेका बेला सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेलको अवस्था आएको थियो ।

बर्तौलाले कांग्रेस संसदमा उदण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको बताए । शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसदमा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको आरोप लगाए । उनले संसदमा काँग्रेसले सत्तापक्षको आशनमा आएर गरिएको दुव्र्यवहारको जति निन्दा गरे पनि कम हुने बताए ।