काठमाडौं । सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागपछि अवरोध हुँदै आएको संसद अब सहज हुने दिशातर्फ अगाडि बढेको छ ।
कांग्रेसको मागमा सुरुमा सुनुवाइ नगरेको सत्ता पक्ष बिहीबारसम्म आइपुग्दा लचक बनेको छ भने संसदमा लामिछानेलाई बोल्नै नदिएको कांग्रेस उनलाई बोल्न दिन तयार भएको छ । राजनीति यसरी सहमितउन्मुख बनेपछि बिहीबार साढे चार बजे बस्न प्रतिनिधिसभा बैठक सहज रुपले चल्ने सम्भावना देखिएको छ ।
बिहीबार बिहान बालुवाटारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेताहरूको बैठक बसेको थियो । सो बैठक संसदको अवरोध खुलाउने विषयमा सहमति उन्मुख देखिएको छ । संसदमा लामिछाने बोलेपछि संसदीय छानबिन समिति बनाउने विषयमा रास्वपा सकरात्मक देखिएको छ ।
‘संसदमा हाम्रा कुरा राखेर संसदीय छानबिन समिति बनाउन हामी तयार छौं । समिति कस्तो बन्ने र कुन मोडालिटीको बनाउने भन्ने विषयमा छलफल विभिन्न ढंगबाट भइरहेको छ,’ प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियाले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध खुलाउन लगातार नेताहरूसँग छलफल गरिरहेका छन् । १ बजेको मन्त्रिपरिषद् बैठक बस्नुअघि उनले सभामुख देवराज घिमिरेसँगको टेलिफोन संवादमा संसद बैठकको समय सार्न भनेका थिए । सोही बमोजिम १ बजेका लागि बोलाइएको बैठक साढे ४ बजेका लागि सरेको छ ।
गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने र त्यसपछि सहकारीको विषयमा छानबिन समिति बनाउन सकिने बताउँदै आएका छन् । सो कुरामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मनाउन प्रधानमन्त्री प्रचण्डले प्रयास गरिरहेका छन् ।
सरकार समिति बनाउन तयार भए संसद अवरोध नुहने कांग्रेस बताउँछ । ‘सहमति भएअनुसार गृहमन्त्री ज्यूले संसदमा बोल्नुहुन्छ । त्यसपछि हामी बोल्छौं । सहमति भएमा आजै संसदीय छानबिन समिति गठन हुन्छ,’ कांग्रेस सांसद रामहरी खतिवडाले भने ।