• मंसिर १३ २०८१, बिहीबार

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएर संसद अवरोध गर्ने कांग्रेसको तयारी

जेष्ठ १ २०८१, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति पौडेललाई संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपतिको गरिमा र मर्यादालाई हेरेर संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय भएको बताए ।उनका अनुसार राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पेस गरिसकेपछिका बैठकमा भने कांग्रेसले अवरोध कायम राख्ने छ ।

राष्ट्रपतिको गरिमा र मर्यादालाई हेरेर संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा भाग लिन्छौँ र अवरोध गर्दैनौँ, लेखकले भने, त्यसपछिका कुनै पनि बैठकमा कांग्रेस सहभागी हुँदैन । संसदमा अवरोध गछौं ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले पेस गर्ने कार्यसूची छ। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद बैठकमा अवरोध गर्दै आएको छ ।

संसदीय समिति बनाउन सरकार तयार नभएको भन्दै कांग्रेसले संसद अवरोधलाई कायमै राख्ने भएको हो । प्रमुख सचेतक लेखकले संसदीय समिति नबनेसम्म संसद अघि बढ्न नसक्ने बताए ।  सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न छन् ।

समिति बनाएर छानबिन गर्नुपर्ने हाम्रो माग छ । तर, सरकार गम्भीर भएन, उनले भने, बचतकर्ताको पीडामा सरकार गम्भीर नभएकाले हामी विरोधमा उत्रिएका हौँ । संसदीय समिति गठन नभएसम्म सदन अघि बढ्न दिँदैनौँ ।