काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले उनलाई बिनाकारण सोमबार करिब ९ बजेतिर काठमाडौँको बालाजुबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका सह-संयोजक वीरेन्द्र शाहले जानकारी दिए ।
यता बालाजु प्रहरी वृत्तका प्रमुख डिएसपी रामकुमार दानीले संयोजक राईलाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनले केकति कारणले राईलाई गिरफ्तार गरेको हो भन्ने बारेमा केहि खुलाएनन् । राईलाई बिशेष ब्यूरोले समातेर राख्नका लागि मात्रै बालाजु पठाएको उनको भनाई छ ।
क्रान्तिकारीले विद्यार्थी दिवसको अवसरमा मंगलबार काठमाडौँमा कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रमको पूर्वसन्ध्यामा संयोजक राईलाई बिनाकारण षड्यन्त्रपूर्वक तरिकाले गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । साथै उनलाई तत्काल रिहा गर्न माग समेत गरेको छ ।