काठमाडाै । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर बनेको दललाई निर्वाचन आयोगले मान्यता दिएको विरूद्ध अध्यक्ष उपेन्द्र यादव सर्वोच्च पुगेका छन् ।
सोमबार सर्वोच्च अदालत पुगेर अध्यक्ष यादवले आयोगविरूद्ध रिट दायर गरेका हुन् । यादवले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
मुद्दाको पेसी मंगलबारका लागि तोकिएको पनि उनले जानकारी दिए । रिटमा अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध रिट दायर गरेका हुन् ।
रिटमा आयोगसँगै जनता समाजवादी पार्टीमा समाहित भएका ७ जना सांसदहरूलाई पनि यादवले विपक्षी बनाएको घिमिरेले बताए । वैशाख २३ गते अशोक राई पक्षले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका थिए ।
फुटेको जसपामा सांसदहरू प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु झा ठाकुर, हसिना खान र सुशीला श्रेष्ठ छन् । आयोगले भोलिपल्ट नै उक्त दललाई मान्यता दिएको थियो । अध्यक्ष यादवले सोमबार नै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजीनामा दिएका छन् ।
उनीसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि आजै राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिएसँगै अशोक राई नेतृत्वको जसपामा रहेका प्रदीप यादव, रञ्जु झा र हसिना खातुन मन्त्री बन्ने भएका छन् । नवलकिशोर साह सुडी भने अहिले वन तथा वातावरण मन्त्री छन् ।