काठमाडाै । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पठाउने भएको छ । प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय भएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
जनता समाजवादी पार्टीमा लागेका नवलकिशोर साह सुडी यसअघि नै संघीय सरकारमा वन तथा वातावरण मन्त्री छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका थिए ।
रिक्त स्थानमा नवगठित जसपाबाट मन्त्री बनाउन लागिएको हो । महासचिव राईका अनुसार पार्टीले पठाएका मन्त्रीहरूको शपथ सोमबार नै हुनेछ ।
‘मन्त्रीहरूको शपथ सोमबार अपराह्न ५ बजे हुने भनिएको छ,’ उनले भने । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी पार्टी बनाएका थिए ।