• आश्विन १९ २०८१, शनिबार

रोल्पाका २० महिने बालक महेन्द्र डाँगीको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह

बैशाख ३१ २०८१, सोमबार

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका-७ दर्बैका क्यान्सर पीडित बालक महेन्द्र डाँगी बचाऔं अभियानलाई साउदी अरबमा रहेका नेपाली श्रमिकहरुले रु.३८ हजार २६३ प्रदान गरेका छन् ।

सो रकम काठमाडौंको सामाखुशीस्थित गोलखबर डटकमको कार्यालयमा एक समारोहकाबीच क्रान्तिकारी कम्युनिष्ट पार्टीका सचिवालय सदस्य पूर्ण विक ‘रक्तिम’ले पीडित डाँगीका बुवा दिपेन्द्र डाँगीलाई हस्तान्तरण गरे । नेपालको विभिन्न जिल्लामा घर भएका मजदूरहरुले आफूले कमाएको रकमबाट कटाएर पीडित डाँगीको उपचारमा सहयोग गर्न उनीहरुले सो रकम पठाएका हुन् ।

राेल्पाकाे त्रिवेणी गाउँपालिका छाप, बाँसठानाका बाबुराम कुमाकीको अगुवाईमा साउदीमा रहेका राेल्पालीसहित अन्य जिल्लाका नेपाली र भियतनामी मजदूरहरूले समेत उपलब्ध गराएको सो रकम नेपाल पठाइएको कुमाकीले बताए ।

२० महिने बालक डाँगीको गत पुषदेखि काठमाडौंस्थित कान्ति बालअस्पतालमा उपचार हुँदै आएको उनकी आमा लीला डाँगीले बताइन् ।उनलाई पहिला डेंगी संक्रमण भएको र उपचारपछि डेंगी निको भएपनि स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि जाँच गर्दा न्यूरो ब्लास्टमा ट्यूमर भएको पत्ता लागेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पुगोस् भनेर उनका आफन्तले आर्थिक संकलन अभियान चलाएको आफन्त पूर्ण विक ‘रक्तिम’ले जानकारी दिए ।

सोही क्रममा साउदीबाट सो रकम प्राप्त भएको हो । एकवर्ष अघिदेखि उनको उपचार चलिरहेको छ । उनकी आमा लीलाका अनुसार उनलाई हालसम्म ८ वटा किमोथेरापी गरिसकिएको छ । आमा लीलाका अनुसार कान्ति बालअस्पतालका चिकित्सकले डाँगीको अब नसाको अपरेसन गर्न बाँकी रहेको तर त्यहाँ अपरेसन सम्भव नरहेकोले अन्यत्र लैजान सुझाएका छन् ।

उनका अनुसार नसामा समस्या भएकोले आँखाको ज्योती गुमेको र अब ज्योती फर्काउन सकिने चिकित्सकको भनाई उदृत गर्दै आमा लीलाले बताइन् ।

उनका बाबु दिपेन्द्र डाँगीले पनि छोराको मृगौलामा जाने नसामा पलाएको ट्युमरको अपरेसनको लागि चिकित्सकसँग परामर्स भइरहेको जानकारी दिए । ट्युमरमा भएको क्यान्सरको असर बालकको नसामा फैलिएको चिकित्सकको भनाई रहेको दिपेन्द्रले बताए ।

छोराको उपचार प्रकृया निकै लामो भएकोले उपचार खर्च जुटाउन मुस्किल रहेको भन्दै उनले आफन्तहरु तथा सहयोगदाताहरुसित सहयोगको अपेक्षा गरेका छन् । सहयाेग गर्न चाहने सहयाेगदाताले तल दिइएकाे दिपेन्द्र डाँगी र पूर्ण विक ‘रक्तिम’काे क्यूआर काेर्डमा रहेकाे नम्बरमा रकम उपलधब्ध गराउन सक्नुहुनेछ ।

तस्वीर : रोमन बुढामगर l