काठमाडाै । नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी भइरहेको छ ।
मधेशमा जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिन लागेका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले संसदीय दलका नेता सरोज यादव र माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहबीच केही दिनदेखि निरन्तर छलफल चलिरहेको छ ।
दुई दिनअघि पार्टीको शीर्षस्थ तहबाट सरकार छोड्न तयारी अवस्था रहन निर्देशन दिइएको थियो । सोही अनुसार एमाले र माओवादीका मन्त्रीहरू राजीनामा दिने तयारी गरेर केन्द्रको थप निर्देशन पर्खिरहेका छन् । नयाँ सरकार गठनका लागि जनमत र लोकतान्त्रिक पार्टीसँग समेत छलफल भएको एमालेका एक नेताले बताए ।
जनमतको पहिलो सर्त आफ्नो नेतृत्वमा प्रदेश सरकार हुनुपर्ने रहेको छ । ती नेताले भने, ‘एमाले, जनमत र माओवादी आलोपालो सरकारको नेतृत्व पाउनेगरी सहमति भएको छ । हामी पहिलो खेप जनमतलाई मुख्यमन्त्री दिन सहमत छौँ ।’
अहिले विपक्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई केन्द्रदेखि र प्रदेश सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।
लोसपाका एक सांसदले भने, ‘एमाले र माओवादीका नेताहरूले नयाँ सरकार गठनमा सहयोग मागेका छन् । हामीले पहिले समर्थन फिर्ता लिनुस त्यसपछि कुरा गरौँला भनेका छौँ ।’ मधेशमा एमाले, माओवादी, जनमत र लोसपा मिल्दा सरकार गठनका लागि बहुमत पुग्ने गणित छ ।