• मंसिर ११ २०८१, मंगलवार

सुनकोसी–मरिन डाइभर्सन ब्रेक थ्रु

बैशाख २८ २०८१, शुक्रबार

सुनकोसी–मरिन डाइभर्सनको ब्रेक थ्रु भएपछि राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा केही आशा पलाएको छ । नेपालमा राष्ट्रिय गौरवका आयोजना प्रचारमा त ल्याइने तर तिनको व्यवहारमा कार्यान्वयनमा समस्या रहिरहने गरेको छ ।

नेपालमा पछिल्ला दिनमा भएगरेका दुईवटा ब्रेकथ्रुले जनतामा केही आशा पनि जगाएको छन् : एउटा नागढुङ्गा–सिस्नेखोला सुरूङमार्गको ब्रेक थ्रु र अर्को सुनकोसी–मरिन डाइभर्सन ब्रेक थ्रु ।

यी दुवै आयोजना बहुउद्देश्यीय आयोजना हुन् । यी दुवैलाई रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको छ । यी आयोजनको सफलताले देश विकासमा योगदान पुग्ने विश्वास गरिएको छ । यी देशका ठूला भौतिक पूर्वाधार निर्माणका काम पनि हुन् । यी दुवैले देशको विकासमा ठूल्ठूला योगदाना सहयोग पुर्‍याउने देखिनछ ।

नागढुङ्गा–सिस्नेखोला सडकमार्गको सुरूङको ब्रेकथ्रुले यातायातमा जत्तिको योगदान दिन्छ, त्यो भन्दा कम योगदान दिदैन सुनकोसी–मरिनको ब्रेक थ्रुले पनि ! यसले कृषि क्षेत्रको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने छ । हाल देशको कुल ग्राहस्थ उत्पादनमा एकतिहाइ योगदान दिँदै आएको कृषिक्षेत्रमा यसले ठूलो टेवा पुर्‍याउने छ ।

यसले देशमा बढिरहेको जनसङ्ख्याका लागि आवशयक पर्ने खाद्यान्न, यसको आपूर्ति, खाद्यान्नमा आत्मनिर्भरता, र खाद्य सुरक्षाका समस्याहरू हल गर्न सहयोग पुग्ने देखिएको छ । यदि यसो हुन गएमा यो क्षेत्रका जनताको आर्थिक उन्नति, समृद्धि र गरिवी न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ ।

देशमा रोजगारी, आर्थिक आत्मनिर्भरता र जनताको जीवनस्तरमा उन्नति हुन गएमा मात्र देशमा सुशासन, सामाजिक न्याय र समृद्धि तथा विकासको सपना साकार हुन सक्छ । यसका लागि नेपालमा राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गरिनुपर्ने र त्यसबाट लक्षित जनता र भूभागमा ठूलो आयोजना अघि बढाइनु पर्ने हुन्छ ।

सुनकोसी–मरिनजस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनपछि देशको जलस्रोत तथा सिँचाइ क्षेत्रमा अपेक्षित परिवर्तन आउने छ । यसले किसानलाई बहुआयामिक विकासका काम तथा कार्यक्रम कार्यान्वयनका लागि ढोका खोलिदिने छ । यसका लागि सुरूङ ब्रेक थ्रु भइसके पनि बाँकी रहेको फिनिसिङको काम छिट्टै पूरा गरिनुपर्छ ।

सुनकोसी–मरिन डाइभर्सनजस्तो बहुउद्देश्यीय सिँचाइ आयोजनाले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा बागमती नदीमार्फत् गएको नहरबाट वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने छ ।

सिन्धुली–रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत् मरिन नदीमा झर्नथालेपछि यसको परिणाम व्यवहारिक रूपमा नै देखिने छ । यसबाट ४५ हजार ६०० हेक्टर भन्दा बढी जमिनको बाह्रै महिना सिँचाइ हुने छ ।