काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ । उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा मिसाएका थिए ।
गत आइतबार जसपा नेपालबाट अशोक राईसहित सात जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी गठन भएको थियो । गत सोमबार निर्वाचन आयोगले जनता समाजवादीलाई मान्यता दिएको थियो ।
पार्टी विभाजनबाट असन्तुष्ट रहेको लावती लगायतले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका छन् । सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको निष्कर्षसमेत उनीहरूको छ ।
आगामी दिनमा विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई समृद्धि पथतर्फ लैजाने मोर्चाको भनाइ छ ।
उनीहरूले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर जसपा नेपालबाट अलगिएर पहिचानवादी मोर्चा घोषणा गरिएको बताए ।
पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग-अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्व सबैलाई नयाँ शिराबाट एकताबद्ध बनाउने प्रयास गरिने मोर्चाले बताएको छ ।
जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरुको कुनै हात नरहेको बताए । उनले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए ।
पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताए । नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ ।
जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरु पहिला उक्त पार्टीमा लागेको उनले बताए । पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनको भनाइ छ ।