• मंसिर १३ २०८१, बिहीबार

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरे आज शीर्ष नेताहरूसँग छलफल गर्दै

बैशाख २५ २०८१, मंगलवार
काठमाडौँ । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् ।

सभामुख घिमिरेले मंगलबार विहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा गृहमन्त्री रवि लामिछानेलाई अवरोध गर्दै आएको छ । त्यसको निरन्तरता रहे बजेट ल्याउनसम्म पनि समस्या पर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख घिमिरेले संसद्मा अवरोध हटाउन प्रयास गर्दै आएका छन् ।

उनको सचिवालयका अनुसार सभामुख घिमिरेले मंगलबार प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले यसअघि पनि संसद् खुलाउने विषयमा पटक पटक प्रयास गर्दै आएका छन् । तर त्यसबारे सहमति जुट्न सकेको छैन । काँग्रेसले संसदीय छानबिन समिति गठनलाई बटम लाइन बनाएर अघि बढेको छ ।