• मंसिर १३ २०८१, बिहीबार

नियन्त्रणमा रहेकाहरू हिरासत बसाइ छल्न अस्पताल भर्ना हुन थालेपछि गृहले जारी गर्यो कडा नियम

बैशाख २४ २०८१, सोमबार

काठमाडौं । विभिन्न अभियोगमा प्रहरीले नियन्त्रणमा लिएकाहरू हिरासत बसाइ छल्न अस्पताल भर्ना हुने प्रवृत्ति देखिन्छ । यस्ता प्रवृत्ति दोहिरिएपछि गृह मन्त्रालयले एक समिति बनाएर अध्ययन गरी तीन बुँदे निर्णय गरेको छ ।

गृहका आग्रह अनुसार अध्ययन गर्न मेडिकल काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो । समितिले आइतबार बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तीन बुँदे निर्णय गरेको हो ।

गृहमन्त्री रवि लामिछानेले हिरासत छल्ने प्रवृत्ति रोक्न भन्दै तीन बुँदे निर्णय गरी त्यसअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ । शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगी (उच्च रक्तचाप, मधुमेहलगायत) नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अभियुक्तलाई अस्पताल लग्नुपर्ने गृहको निर्णयमा उल्लेख छ ।

सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकले हिरासतमै अभियुक्तको स्वास्थ्य परीक्षण गर्नसक्ने व्यवस्था पनि गरिएको छ ।

साथै अस्पताल लगिएका अभियुक्तलाई अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने भनिएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन भनेको थियो ।