• मंसिर १३ २०८१, बिहीबार

जसपा विभाजनको असर प्रदेशमा : फेरि मन्त्री बने सांसद भण्डारीलाल

बैशाख २४ २०८१, सोमबार

बुटवल । लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी पुन : सरकारमा सहभागी भएको छ । वैशाख ८ गते राजीनामा दिएर घरमै बसेका जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश सरकारको मन्त्रीको रूपमा आज कार्यभार सम्हालेका हुन् ।

पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका छन् । सहमति कार्यान्वयन नभएको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर, उनको राजीनामा मुख्यमन्त्री जोखबहादुर महाराले स्वीकृत गरेका थिएनन् ।

अहिरले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पदभार ग्रहण गर्दै जिम्मेवारी लिएका मन्त्रीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए । लुम्बिनी प्रदेशमा नयाँ समीकरणको आधारमा सरकार बनाउँदा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर, सो सहमति कार्यान्वयन नभएको भन्दै पार्टीको निर्देशनमा अहिरले वैशाख ८ गते राजीनामा दिएका थिए ।

लुम्बिनीमा तीन जना प्रदेशसभा सदस्य रहेको जसपाले २ वटा मन्त्रालयको दाबी गर्दै आएको थियो । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट फर्किएपछि अन्य सांसदहरूका बारेमा निर्णय गर्ने बताए । केन्द्रीय राजनीतिमा सो पार्टीभित्र विभाजन देखिएपछि लुम्बिनी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको हो ।