• मंसिर ११ २०८१, मंगलवार

सफलता आफैमा अद्वितीय हुँदैन

बैशाख १९ २०८१, बुधबार

अघिल्लो वर्ष एरिका गुरूङ एसियाली खेलकुद (एसियाड) को १९औँ संस्करणमा रजत पदक विजेता बनेकी थिइन् । एशियाडमा प्राप्त यो सफलता सिंगो देशका गौरवको विषय थियो । नेपालका लागि यो ऐतिहासिक रजत पदक ! कराते खेलाडी एरिका गुरुङले यो पदक नेपाललाई दिलाएकी थिइन् ।

तर एसियाडको १९औँ संस्करणमा देशका लागि लिएको यो ऐतिहासिक रजत पदक कराते खेलाडी एरिका गुरुङका लागि भने सामान्य थियो । यो उनका लागि स्वाभाविक थियो । उनको अनुभवमा यो जित सामान्य प्रतियोगितामा पदक जितेजस्तै थियो ।

खेल मैदानमा प्रवेश गर्दा एरिकाको स्वर्णजित्ने आकाङ्क्षा थियो । त्यो हात परेन । उनले रजत पदक हात थापिन्, लज्जाबोधकासाथ । किनकि स्वर्ण उनको हात परेन । तर रजत पदक पाए पनि यो एक ठूलो उपलब्धि थियो भन्ने कुरा पछि मात्र थाह पाइन् ।

नेपाल आएपछि राष्ट्रिय रूपमा सम्मानित हुँदा पो उनले त्यसको महत्व बुझिन् । उनी भन्छिन्, ‘स्वदेश फर्किएपछि बल्ल आफूले जितेको पदकको महत्व बुझे ।’

१९ औं संस्करणको एशियाड सन् २०२३ को सेप्टेम्बर–अक्टोबरमा चीनको हाङ्झाउमा आयोजना गरिएको थियो । एरिकाले महिला कुमुते तर्फ ६८ केजी भन्दा माथिको तौलसमूहमा सहभागी थिइन् ।

खेलमा जापानी प्रतिस्पर्धीसँग हारिन् । उनलाई स्वर्ण गुमाएको दुःखले गहिरो गरी छोप्यो । स्वर्ण पदक जितको सन्निकट पुगेर चुक्दा उनी द्रविभूत भइन् । यो अनुभूति उनका लागि तुलनात्मक थियो ।

इन्डोनेसियामा पहिलो अन्तर्राष्ट्रिय सहभागितामा स्वर्ण जितेकी एरिकाले एसियाडको रजत पदकमा चित्त बुझाउनु आफैमा असामान्य थियो । आफूले स्वर्ण गुमाएर आएकी एरिका नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीको स्वागतका लागि पुगेको समर्थक र सिङ्गो नेपाली खेलकुद टोली देखेपछि चकित परिन् । बाजागाजा, फूलमाला, अबीरका साथै माला राखेर सजाइएका गाडीहरू देखेर आफूले केही गरेको महसुस गरिन् ।

त्यति नै बेला एरिकाले आफ्ना कराते प्रशिक्षक कुशल श्रेष्ठको कानमा खुसुक्क भनेकी रहिछन्, ‘गुरु ! मैले त एसियाडमा रजत जितेको होइन रहेछ, स्वर्ण गुमाएकी पो रहेछु !’