काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चोधरीबीच पार्टी सञ्चालनबारे भएको सहमति चार दिनमै भत्केको छ । गत शनिबार पार्टी चलाउने र सरकारमा सहभागी हुनेबारे दुईबीच काठमाडौंमा सहमति भएको दाबी गरिएको थियो ।
उक्त सहमतिपछि दुवै जनाले सामाजिक सञ्जालमा आफूहरूको राजनीतिक र पारिवारिक सम्बन्ध ठीकठाक रहेको सन्देश प्रवाह गर्न खोजेका थिए । तर, उक्त दिन भएको भनिएको सहमति चार दिनमै भंग भएपछि रेशम विक्षिप्त बनेका छन् ।
सामाजिक सञ्जालमा उनले मंगलबार राति २० मिनेटको फरकमा सातवटा स्टाटस लेखेका छन् । जसमा उनले सुदूरपश्चिम र लुम्बिनी सरकारबाट फिर्ता हुने सहमति भंग भएको र अब आफू यहाँभन्दा धेरै बेचिन तयार नरहेको आशय व्यक्त गरेका छन् ।
साथै उनले पार्टीका नेता कार्यकर्ताहरूलाई जता फाइदा हुन्छ उतै लाग्न आग्रह पनि गरेका छन् । नाउपाकी प्रदेशसभा सदस्य टीका थापाले मंगलबार मात्रै सुदूरपश्चिम सरकारमा मन्त्रीको शपथ लिएकी थिइन् ।
तर, रेशमले भने नाउपा कुनै पनि सरकारमा सहभागी हुन नसक्ने बताएका छन् । फेसबुक स्टाटसमा उनले सम्बन्ध सबै समाप्त भएको घोषणा पनि गरेका छन् । उनले आफूले भने पहिचानको आन्दोलन छोड्न नसक्ने बताएका छन् ।