काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उनले सो प्रतिक्रिया दिएका हुन् ।
मंगलबार न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव रिमालले कोशी प्रदेश नामकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गरे । कोशी प्रदेशको नामकरण गलत भन्नेहरू, त्यस सन्दर्भमा चपाएर बोल्नेहरू उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचन मार्फत जनताले अनुमोदन गरेको उनको भनाई थियो ।
उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रूपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरूलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गरे । उनले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताए ।