• मंसिर १२ २०८१, बुधबार

रुसी चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डल र प्रम दाहालबीच बालुवाटारमा भेटवार्ता

बैशाख ११ २०८१, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले मंगलबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्र्याउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गरे ।

‘व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका र्छौं, प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनसमेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।’

नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सडक, कृषि, जलविद्युत र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताए । नयाँ परिस्थितीमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ रसियन फेडेरेशनका अध्यक्ष सर्गेयी कटिरिन, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभ लगायतको उपस्थिति थियो ।