• बैशाख २३ २०८१, आईतवार

सफलताको शिखर चुम्न दौडिरहेका रोल्पाका मनकुमार रोकामगर

बैशाख १० २०८१, सोमबार

काठमाडौं । रोल्पा थबाङका मनकुमार रोकामगर विश्व प्रसिद्ध धावक हुन् । तर उनी विश्वस्तरीय खेलाडीको परिचय बनाइसकेर पनि खासै चर्चामा छैनन् । नेपालमा चर्चामा आउनलाई कि मिडियाको नजिकको मानिस हुनुपर्दछ, की मिडियामा लगानी गरेको हुनुपर्दछ ।

तर उनी न मिडिया मालिककोमा चाकडी गर्न गए, न त मिडियाले नै उनलाई पच्छ्याउँदै आए । नेपाली समाज ‘बोल्नेको पिठो बिक्ने तर नबोल्नेको चामल पनि नबिक्ने’ समाज हो । त्यतिमात्र होइन । नेपालीहरुको मनोदशा ‘जस्ले जित्छ, उही मेरो भाले’ भन्ने मनोदशा पनि हो ।

तर रोल्पाका यी मनकुमार अन्तराष्ट्रिय स्तरको खेलमा कयौं पटक विजय हासिल गरेर पनि उनलाई कसैले मेरो भाले भन्न आएन । यो समाचारमा उनलाई कमजोर देखाउन उनको बारेमा यस्तो बताइएको होइन, बरु आजको नेपालको अवस्थाको बारेमा वास्तविक जानकारी दिन खोजिएको हो । मनकुमार सन् २०२४ को मार्च ३० तारिखमा सम्पन्न शैलुङ अल्ट्रा ट्रेल रेस, जो ५५ किलोमिटरको थियो ।

सो प्रतियोगीतामा उनी दोस्रो भएका थिए । उनले सो दौड ५ घण्टा ४६ मिनेटमा पूरा गरेका थिए । त्यस्तै उनले २०२४ को अप्रिल ५ मा भएको अन्तराष्ट्रिय मञ्जुश्री ट्रेल रेसमा पनि पहिलो स्थान हासिल गर्न सफल भएका थिए । सो दौड १ सय किलोमिटरको रहेको थियो ।

मनकुमारले सो दौड १४ घण्टा ४५ मिनेटमा पार गरेको थिए । त्यसैगरी उनले अप्रिलकै ९ देखि १८ तारिखसम्म भएको अन्तराष्ट्रिय मुस्ताङ ट्रेल रेस जो १७० किलोमिटरको थियो । जो प्रतियोगीतामा उनी पहिलो भएका थिए । सो दौड प्रतियोगीतामा उनले १९ घण्टा ३१ मिनेट २ सेकेण्डमा पार गर्न सफल भएका थिए ।

उनी अन्तारष्ट्रिय स्तरकै नेपाली खेलाडीको रुपमा स्थापित भइसक्दा पनि उनलाई कसैले आजसम्म ठूलो राशीको सहयोग प्रदान नगरेको उनको भनाई रहेको छ । यद्यपी उनी कसैले ठूलो राशीको रकम देला भन्ने आशाले खेल क्षेत्रमा लागेको भने होइनन् । उनी स्वाभिमानी विचारका धनी छन् ।

उनलाई कसैको आशा पनि छैन । आफ्नै पहल र रुचीमा उनी सफलताको यो उचाईमा आइपुगेका हुन् । तर यो क्षेत्रमा गर्नुपर्ने धेरै काम रहेको उनको भनाई रहेको छ । यसभन्दा अघि दाङमा रहेको द लोटस् ट्रायल सेन्टरले केही आर्थिक सहयोग गरेको मनकुमारले बताए ।

मनकुमारलाई खेल क्षेत्रमा लाग्नमा परिवारको सहयोग पनि रहेको छ । उनका आफन्तहरु दाजू र बैनीहरुले पनि उनलाई खेल क्षेत्रमा लाग्न हौसला प्रदान गरिरहेका छन् । मिडिया, आफन्त र परिवारको हौसला पाएमा खेल क्षेत्रमा अझै अगाडी बढ्ने मनकुमारको चाहना छ ।

गत मंसिरमा ट्रायलमाण्डुको आयोजनामा नेपालको पहिलो १ सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको थियो । काठमाडौं र नुवाकोटको सीमाना गुर्जे भञ्ज्याङबाट सुरु भएर झुलेमा सम्पन्न भएको ३३ कि.मीको सो स्टेज रेस च्यालेन्जमा पनि पुरुषतर्फ मनकुमारले ३ घण्टा ४ मिनेट ९ सकेण्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरेका थिए ।

यो प्रतियोगीता अन्तराष्ट्रिय स्तरको भएकोले अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसिया लगायतका ३० जना विदेशी धावकधाविकाको पनि सहभागिता जनाएका थिए ।

बुबा तारामान र आमा करमति रोकामगरको कोखबाट २०५९/११/८ गते रोल्पाको थबाङमा जन्मिएका मनकुमार अध्ययनका लागि दाङको घोराहीमा बस्छन् ।

२०७९/४/२५ बाट दौडमा लागेका उनी छोटो समयमा नै विभिन्न दौड प्रतियोगितामा एकपछि अर्को गर्दै च्याम्पियन बन्न सफल खेलाडी हुन् । विदेशी ३० धावक सहित ९७ धावकलाई पछि पार्दै पुरुषतर्फ स्टेज रेस च्यालेन्जका च्याम्पियन बनेका मनकुमार पहिलो पटक नेपालगञ्ज धारा म्याराथनमा सहभागी जनाएका थिए । मनकुमारले हालसम्म राष्ट्रिय लिग र्याङ्किङ २०२३ मा दोस्रो स्थान हासिल गरेका छन् ।

मनकुमार जुम्ला रारा म्याराथान, फिस्टेल ५० कि.मि.मा पहिलो भएका थिए । सिन्धुपाल्चोकमा भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङको ६० कि.मि.दौडमा उनले दोस्रो स्थान हासिल गरेका थिए भने चसिङ सनराइज २५ कि.मि दौडमा उनले पहिलो स्थान हात पार्न सफल भएका थिए ।

त्यसैगरी मनकुमारले स्काई रेस पोकि पिक ५५ कि.मिको दौडमा तेस्रो र गुरिल्ला अल्ट्रा म्याराथन ७२ कि.मि दौडमा तेस्रो स्थान हासिल गरिसकेका छन् । पहिलो पटक दौडमा सहभागी हुँदा उनलाई एकदमै धेरै गाह्रो भएको उनको अनुभव रहेको छ ।

मनकुमार संघर्षमय ती दिन सम्झिँदै भन्छन्,‘मलाई दौडको बारे केही थाहा थिएन तर मेरो दाईले एकदमै साथ सपोर्ट दिनुभयो, सपोर्ट दिने मान्छे हुँदा पनि धेरै आत्मबल बढ्ने रहृेछ ।’

मनकुमारको यो क्षमता वास्तवमा नेपालका मिडियाहरुले देखेका छैनन् वा बेवास्ता गरेका छन् । चाहेर पनि उनी कहिलेकाँही मात्र मिडियामा बोल्न पाउँछन् । सँगै दौडमा सहभागी भएका अन्य साथीहरुलाई मिडियाले चासो राखेर बोल्ने मौका दिएको तर आफूलाई भने मिडियाले बेवास्ता गरेकोमा मनकुमारको मन खिन्न भएकै छ ।

दौडकै माध्यमबाट नेपाल र नेपालीको शिर उच्च राख्ने चाहना राखेका मनकुमार बीबीएस तेस्रो तहमा महेन्द्र क्याम्पस दाङ घोरहीमा अध्यनरत छन् । खेल क्षेत्रमा लागेर आफू, समाज र देशकै लागि केही नयाँ काम गरेर देखाउने मनोआकांक्षा बोकेर दौड प्रतियोगीतामा दौडिरहेका मनकुमारको सफलताप्रति हाम्रो पनि शुभकामना छ ।

समाजको आवाज डटकमको सहयोगमा ।