बैशाख ९, काठमाडौं । चैत महिनामा पनि अन्तराष्ट्रिय व्यापारमा सुधार आउन सकेको छैन । महिनागत तथ्यांकमा चैत महिनामा गत वर्षको तुलनामा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत महिनामा एक खर्ब ३७ अर्बको वस्तु आयात भएको छ । जबकी २०७९ को चैत महिनामा एक खर्ब ४३ अर्बको वस्तु आयात भएको थियो ।
चैत महिनाको आयात मात्रै गत वर्षको सोही अवधिको तुलानमा ४ प्रतिशतले गिरावट आएको छ । चालु वर्षको नौ महिनाको समग्र आयातमा आएको कमी भने २.८४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९र८० को नौ महिनामा १२ खर्ब एक अर्ब रूपैयाँको सामान आयात भएको थियो ।
चालु वर्षको यसै समयमा ११ खर्ब ६७ अर्ब रूपैयाँको सामान आयात भएको छ । नौ महिनाको अवधिमा निर्यात एक खर्ब पुगेको छ । निर्यात पनि गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७९र८० को नौ महिनामा एक खर्ब चार अर्ब ७९ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो । चालु वर्षको नौ महिनामा भने एक खर्ब ६१ करोड रूपैयाँ बराबरको निर्यात भएको छ ।
चैत महिनामा मात्रै भएको निर्यात पनि गत वर्षको तुलनामा घटेको छ । २०७९ चैत महिनामा १३ अर्ब ४८ करोडको निर्यात भएको थियो । २०८० चैत महिनामा भने १३ अर्ब ३२ करोड रूपैयाँको निर्यात भएको छ ।
आयात निर्यात दुवै घट्दा समग्र व्यापार २.९२ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार घाटा २.७५ प्रतिशतले घटेको छ ।